गोरद्वारा परराष्ट्र र अर्थमन्त्रीसँग भेटवार्ता, एमसीसी परियोजना अघि बढाउन जोड

काठमाडौं — दक्षिण तथा मध्य एसियाका लागि अमेरिकी विशेष दूत सर्जियो गोरले नेपाल भ्रमणका क्रममा शुक्रबार परराष्ट्रमन्त्री शिशिर खनाल र अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग छुट्टाछुट्टै भेटवार्ता गरेका छन्।
परराष्ट्र मन्त्रालयमा भएको भेटमा नेपाल–अमेरिका द्विपक्षीय सम्बन्ध थप सुदृढ बनाउने विषयमा छलफल भएको छ। काठमाडौंस्थित अमेरिकी दूतावासका अनुसार उक्त भेटमा विशेषगरी व्यापार विस्तार र लगानी प्रवर्द्धनका विषयमा कुराकानी भएको थियो। गोरले नेपालमा कार्यान्वयनतर्फ अघि बढिरहेको मिलेनियम च्यालेन्ज कोअर्पोरेसन (एमसीसी) अन्तर्गतका परियोजना अघि बढाउने विषयमा जोड दिएका छन्। मन्त्रालयले दुवै पक्षबीच विभिन्न सम्भावनायुक्त क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा रचनात्मक र फलदायी संवाद भएको जनाएको छ।
यसैबीच, गोरले अर्थमन्त्री वाग्लेसँग पनि भेट गरेका छन्। अर्थमन्त्रालयले नेपाल–अमेरिका सम्बन्ध अझ प्रगाढ बनाउँदै लगानी र व्यापार वृद्धि गर्न सहकार्य केन्द्रित कुराकानी भएको जनाएको छ। भेटका क्रममा दुई देशबीचको आर्थिक साझेदारी र विकास सहायताका विविध विषयमा छलफल भएको मन्त्रालयले जानकारी दिएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टीले नयाँ सरकार बनाएसँगै पछिल्लो समय एकपछि अर्को अमेरिकी अधिकारीको नेपाल भ्रमणको क्रम बाक्लिएको छ। यसअघि अमेरिकी सहायक विदेशमन्त्री समीर पल कपुरले पनि नेपाल भ्रमण गरिसकेका छन्। तर, प्रधानमन्त्री बालेन्द्र शाहसँग भने दुवै अधिकारीको भेट हुन सकेको छैन।
#अमेरिका #नेपाल #गोरभ्रमण





