२१ बैशाख २०८३, सोमबार

गोरद्वारा रवि लामिछानेसँग बिहानै भेटवार्ता, ड्रोन प्रकरणमा सरकार मौन

काठमाडौं — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका मध्य तथा दक्षिण एसियाली मामिलाका विशेष दूत एवम् भारतका लागि राजदूत सर्जियो गोरले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग शनिबार बिहान भेटवार्ता गरेका छन्।

लामिछानेलाई भेट्न गोर बिहान साढे ८ बजे बूढानीलकण्ठ नजिकैको उनको निवास पुगेको र करिब आधा घण्टा कुराकानीपछि ९ बजे बाहिरिएको स्रोतले जानकारी दिएको छ। गोरले यसअघि शुक्रबार परराष्ट्रमन्त्री शिशिर खनाल र अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग भेटवार्ता गरेका थिए। तर, प्रधानमन्त्री बालेन्द्र शाहसँग भने भेट हुन सकेको छैन।

नेपाल बसाइका क्रममा गोरले शुक्रबार बिहान एभरेष्ट बेसक्याम्प पुगेर अल्ट्रा एक्स जेन २ नामक अमेरिकी कार्गो ड्रोनको परीक्षण उडान गराएका थिए। उनीसँग नेपालस्थित कार्यवाहक अमेरिकी राजदूत स्कट अर्बम पनि बेसक्याम्प गएका थिए। ड्रोन उडानको स्वीकृति र कार्यक्रमबारे नेपाल सरकारले हालसम्म कुनै जानकारी दिएको छैन। नेपाल नागरिक उड्डयन प्राधिकरणले पनि आफूलाई यसबारे जानकारी नभएको बताएको छ।

गोर बिहीबार साँझ ६ सदस्यीय टोलीसहित नयाँ दिल्लीबाट काठमाडौं आएर होटल द्वारिकाजमा बसेका थिए। शुक्रबार दिउँसो मन्त्रीहरूसँगको भेटपछि उनी काठमाडौं दरबार स्क्वायर क्षेत्रको अवलोकनमा पुगेका थिए। उनी आज राति नयाँ दिल्ली फर्किने कार्यक्रम छ।

#गोरभ्रमण #रविसँगभेट #सगरमाथामाड्रोन

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button