ट्रम्पद्वारा क्युबामाथि प्रतिबन्ध कडाइको कार्यकारी आदेशमा हस्ताक्षर, ऊर्जा, धातु र बैंकिङ क्षेत्रलाई निशाना

काठमाडौं — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार क्युबाली सरकारमाथि प्रतिबन्ध विस्तार गर्ने एक कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन्। उक्त आदेशले क्युबाली अर्थतन्त्रको ऊर्जा, रक्षा तथा सम्बद्ध सामग्री, धातु तथा खानी, वित्तीय सेवा वा सुरक्षा क्षेत्रमा सञ्चालित वा सञ्चालन भइसकेका व्यक्ति तथा संस्थाको अमेरिकाभित्र वा अमेरिकी नियन्त्रणमा रहेको सम्पूर्ण सम्पत्ति रोक्का गर्ने व्यवस्था गरेको छ।
आदेशले क्युबाको विश्वव्यापी बैंकिङ प्रणालीमा पहुँच सीमित गर्ने लक्ष्य राख्दै क्युबासँग सम्बन्ध राखेको कारण पहिल्यै प्रतिबन्धित व्यक्ति तथा निकायसँग वित्तीय कारोबार गर्नेमाथि दोस्रो चरणको प्रतिबन्ध (सेकेन्डरी स्याङ्क्सन) लगाउने व्यवस्था गरेको छ। साथै, क्युबाली सरकारसँग सम्बन्ध राख्ने कसैको तर्फबाट महत्त्वपूर्ण वित्तीय कारोबार सञ्चालन वा सहजीकरण गर्ने विदेशी वित्तीय संस्थालाई दण्डित गर्ने अधिकार पनि आदेशले अमेरिकी सरकारलाई दिएको छ।
अमेरिकाले क्युबामाथि ६० वर्षभन्दा लामो समयदेखि प्रतिबन्ध कायम राखेको छ। सन् १९६२ फेब्रुअरीमा आधिकारिक रूपमा स्थापित व्यापक व्यापार नाकाबन्दी कहिले कडा त कहिले केही खुकुलो पारिँदै हालसम्म पनि जारी राखिएको छ।





