२१ बैशाख २०८३, सोमबार

पेन्टागनद्वारा जर्मनीबाट ५,००० अमेरिकी सेना फिर्ता गर्ने योजना, इरान युद्धमा युरोपेली सहयोग नपाएको ट्रम्पको असन्तुष्टि

काठमाडौं — अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले जर्मनीबाट करिब ५,००० सैनिक फिर्ता गर्ने योजना बनाएको एक वरिष्ठ रक्षा अधिकारीले शुक्रबार जानकारी दिएका छन्। नाम उल्लेख नगर्ने शर्तमा ती अधिकारीलाई उद्धृत गर्दै अमेरिकी सञ्चारमाध्यमले जर्मन चान्सलर फ्रेडरिख मेर्जको इरान युद्धबारेको हालैको टिप्पणी ‘अनुपयुक्त र असहयोगी’ रहेको उनको भनाइ रहेको जनाएका छन्।

यसै साता मेर्जले अमेरिकाले इरानमा ‘योजनाविहीन’ सैन्य संलग्नता जनाइरहेको र ‘इरानी नेतृत्वद्वारा अमेरिका अपमानित भइरहेको’ आलोचना गरेका थिए। जवाफमा ट्रम्पले मेर्ज ‘आफू के भन्दैछन् भन्ने नै थाहा नभएको’ र इरानको आणविक महत्त्वाकांक्षाप्रति उदासीन रहेको भन्दै आक्रोश पोखेका थिए।

ट्रम्पले बुधबार सामाजिक सञ्जालमा जर्मनीमा अमेरिकी सेना घटाउने सम्भावनाबारे विचार भइरहेको र ‘आगामी छोटो अवधिभित्र’ निर्णय हुने लेखेका थिए। बिहीबार उनले स्पेन र इटालीमा पनि अमेरिकी सैन्य उपस्थिति घटाउन सकिने बताए। ‘किन नघटाउनु? इटालीले कुनै सहयोग गरेको छैन। स्पेन त एकदमै खराब छ,’ उनले इरानविरुद्धको अमेरिकी–इजरायली युद्धमा सहयोग नगरेको भन्दै युरोपेली सहयोगीलाई पुनः आलोचना गरे।

जर्मन विदेशमन्त्री जोहान भादेफुलले बिहीबार जर्मनी अमेरिकी सेना फिर्ताको सम्भावित अवस्थाका लागि तयार रहेको बताएका छन्। रक्षा विभागको तथ्याङ्कअनुसार गत वर्षको अन्त्यसम्म जर्मनीभरिका बेसहरूमा ३६,००० भन्दा बढी सक्रिय अमेरिकी सैनिक, करिब १,५०० रिजर्भ र ११,५०० नागरिक कर्मचारी तैनाथ थिए। जर्मनीमा अमेरिकी युरोपेली कमान्ड र अमेरिकी अफ्रिका कमान्डको मुख्यालय पनि रहेको छ भने रामस्टेन एयर बेस अमेरिकी सैन्य कारबाहीका लागि प्रमुख केन्द्रका रूपमा रहेको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button