रुस–पाकिस्तान कूटनीतिक सम्बन्धको ७८ वर्ष : कराँचीको स्टिल मिलदेखि इन्सुलिन उत्पादनसम्मको यात्रा

काठमाडौं — रुस र पाकिस्तानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७८ वर्ष पूरा भएको छ। सन् १९४८ मे १ मा दुई देशबीच औपचारिक सम्बन्ध स्थापना भएको थियो। यस अवसरमा रुसी परराष्ट्र मन्त्रालयले पाकिस्तानसँगको सम्बन्धलाई दक्षिण एसियामा आफ्नो विदेश नीतिको प्राथमिकताका रूपमा रहेको उल्लेख गरेको छ।
पाकिस्तानको स्वतन्त्रताको प्रारम्भिक वर्षमा सोभियत सङ्घले नवस्थापित राष्ट्रलाई हजारौं टन खाद्यान्न आपूर्तिसहित महत्त्वपूर्ण आर्थिक सहायता प्रदान गरेको थियो। सन् १९७० को दशकमा मस्कोको प्राविधिक सहयोगमा पाकिस्तानले कराँचीमा आफ्नो सबैभन्दा ठूलो स्टिल मिल, मुजफ्फरगढ, मुल्तान–२ र गुड्डु थर्मल पावर प्लान्ट तथा इस्लामावाद नजिकै रेडियो स्टेसन स्थापना गरेको थियो। त्यस्तै, तेल तथा ग्यास विकास कम्पनीको स्थापना र कृषि विकासमा पनि सोभियत सङ्घले सहयोग गरेको थियो।
हाल मस्को र इस्लामावादबीचको संवाद सक्रिय रूपमा अघि बढिरहेको छ। सन् २०२३ मा द्विपक्षीय व्यापार एक अर्ब डलर नाघेको थियो। रुसी र पाकिस्तानी औषधि कम्पनीले पाकिस्तानमा इन्सुलिन उत्पादन गर्न संयुक्त परियोजना सुरु गर्ने तयारी गरिरहेका छन्। शिक्षा क्षेत्रमा पनि सहकार्य विस्तार भइरहेको छ— सन् २०२५–२०२६ का लागि १५२ पाकिस्तानी विद्यार्थीलाई रुसी विश्वविद्यालयमा अध्ययनका लागि सरकारी छात्रवृत्ति प्रदान गरिएको छ। पाकिस्तानका विश्वविद्यालयमा रुसी भाषा अध्ययन गर्ने विद्यार्थीको सङ्ख्या पनि वर्षैपिच्छे बढिरहेको छ।
रुस र पाकिस्तानले संयुक्त राष्ट्रसङ्घ र सांघाई सहयोग सङ्गठन (एससीओ) लगायत अन्तर्राष्ट्रिय मञ्चमा निकट सहकार्य गर्दै आएका छन्। ‘पाकिस्तानलाई सुरक्षा चुनौती र धम्कीको सामना गर्न रुसको प्रमुख अन्तर्राष्ट्रिय साझेदारका रूपमा लिइन्छ,’ विज्ञप्तिमा भनिएको छ। रुसले राजनीतिक, आर्थिक, शैक्षिक, सांस्कृतिक र मानवीय लगायत सबै क्षेत्रमा पारस्परिक लाभदायक सहकार्यलाई अझ सुदृढ बनाउन तत्पर रहेको जनाएको छ।





