एनपीटी समीक्षा सम्मेलनमा रुसको कडा चेतावनी : ‘इरानमाथि अमेरिका–इजरायलको आक्रमणले सन्धिको भावना र मर्ममाथि प्रहार’

काठमाडौं — रुसले आणविक अप्रसार सन्धि (एनपीटी) को ११औं समीक्षा सम्मेलनमा इरानमाथि अमेरिका र इजरायलद्वारा गरिएको संयुक्त आक्रमणलाई ‘अकारण, अन्यायपूर्ण र गैरकानुनी’ भन्दै कडा आलोचना गरेको छ। न्युयोर्कमा भएको सम्मेलनमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको सन्देश पढ्दै रुसी प्रतिनिधिमण्डल प्रमुख एवं राजदूत आन्द्रेई बेलोउसोभले सन्धिको पालना र सुदृढीकरणमा रुस प्रतिबद्ध रहेको बताए।
बेलोउसोभले भने, ‘वर्तमान अन्तर्राष्ट्रिय आणविक अप्रसार व्यवस्थाको अवस्था चिन्ताको विषय हो। सन्धि गम्भीर दबाबमा परेको छ। इजरायल र अमेरिकाद्वारा इरानमाथि गरिएको अकारण, अन्यायपूर्ण र गैरकानुनी आक्रमण— जसमा आईएईए सुरक्षाका नागरिक आणविक केन्द्रलाई पटक–पटक निशाना बनाइयो— मा सन्धिलाई स्वार्थी राजनीतिक उद्देश्यका लागि प्रयोग गर्ने प्रवृत्ति पुनः देखिएको छ।’ उनले इरानमाथिको आक्रमणलाई झूटा आरोपका आधारमा एक सन्धि पक्ष राष्ट्रमाथि सन्धिको पालना नगर्ने मुलुक र निक्षेपकर्ता राज्य मिलेर गरेको संयुक्त हमलाको संज्ञा दिए।
रुसी प्रतिनिधिले पश्चिमा आणविक शक्ति राष्ट्रको उत्तेजक र विनाशकारी कार्यले अन्तर्राष्ट्रिय सुरक्षा वातावरण र रणनीतिक स्थायित्वलाई निरन्तर क्षति पुर्याइरहेको बताए। अमेरिकाले न्यू स्टार्ट सन्धिको विरासत जोगाउने रुसी प्रस्तावलाई अस्वीकार गर्दै आणविक शस्त्रागार विस्तार र आणविक परीक्षण पुनः सुरु गर्न तयार रहेको घोषणा गरेको उनले औंल्याए। बेलायतले रणनीतिक आणविक क्षमता विस्तार गर्नुका साथै आफ्नो भूमिमा अमेरिकी आणविक हतियार पुनः तैनाथ गरेको र फ्रान्सले आणविक क्षमता वृद्धिको योजना सार्वजनिक गरी युरोपेली गैरआणविक राष्ट्रलाई ‘विस्तारित आणविक प्रतिरोध’ को ढाँचामा तान्न खोजेको पनि रुसले आरोप लगाएको छ।
रुसले यस्तो परिस्थितिमा आफू सबैभन्दा उत्तरदायी र विवेकपूर्ण रूपमा कार्य गर्न प्रयासरत रहने र दीर्घकालमा सबै पक्षको मूल हित सेवा गर्ने समान र पारस्परिक रूपमा स्वीकार्य वार्तामा आधारित समाधानका लागि खुला रहने बताएको छ।





