कोदारीमा पहिरोले अरनिको राजमार्ग पूर्ण रूपमा अवरुद्ध, म्याग्दी र भोजपुरका सडक एकतर्फी सञ्चालनमा

काठमाडौं — केही दिन यतादेखि परेको वर्षाका कारण आएको पहिरोले अरनिको राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ कोदारीस्थित ईकु पहिरोका कारण वैशाख १६ गतेदेखि अवरुद्ध उक्त राजमार्ग शनिबारसम्म पनि सञ्चालन हुन सकेको छैन।
केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेका अनुसार बाढीका कारण भोजपुर नगरपालिका–५ बोखिमको मई पहाडी लोकमार्गको वैकल्पिक बाटो पहाडी लोकमार्ग र पहिरोले अवरुद्ध म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ जलथलेस्थित बेनी–जोमसोम सडकखण्ड भने एकतर्फी रूपमा सञ्चालनमा आएका छन्। ‘अरनिको राजमार्ग भने पूर्ण रूपमा अवरुद्ध छ,’ काफ्लेले भने।
प्रहरीले अवरुद्ध र एकतर्फी सञ्चालनमा आएका राजमार्गमा सुरक्षित एवं सावधानी अपनाएर यात्रा गर्न आग्रह गरेको छ।
#अरनिकोराजमार्ग #पहिरो #अवरुद्ध





