सल्यान प्रहरी कार्यालयको जगमुनि ८६ बम भेटिए, द्वन्द्वकालीन हुन सक्ने आशंका

सल्यान — जिल्ला प्रहरी कार्यालय सल्यानको परिसरभित्र भवन निर्माणका लागि जग खन्ने क्रममा ठूलो परिमाणमा विस्फोटक सामग्री फेला परेको छ। शारदा नगरपालिका–३ स्थित प्रहरी कार्यालय परिसरमा बुधबार दिउँसो सकेट बमजस्तो देखिने शङ्कास्पद वस्तु भेटिएपछि सुरक्षा सतर्कता बढाइएको थियो। लगातारको उत्खननपछि शनिबार बिहानसम्म जम्मा ८६ वटा बम बरामद भएको प्रहरीले जनाएको छ।
प्रहरी नायब उपरीक्षक हेमबहादुर केसीका अनुसार बरामद भएकामध्ये ८२ वटा सकेट बम, तीन वटा सुतली बम र एउटा बोतल बम रहेका छन्। साथै, थप उत्खननका क्रममा सात थान रेडियो वेभ उपकरण, करिब ५०० ग्राम विस्फोटक पदार्थ, करिब दुई किलो बम निर्माणमा प्रयोग हुने सामग्री तथा १० मिटर फायरिङ केबलसमेत फेला परेको छ।
डीएसपी केसीको कमान्डमा १० जनाको प्रहरी टोली खटिएको थियो भने सिद्धीबक्स गणबाट उपसेनानी कृष्ण क्षेत्रीको नेतृत्वमा थप टोली घटनास्थल पुगेको थियो। बुधबार साँझसम्म थप बम फेला परेपछि दाङको नं. १९ बाहिनीबाट बम डिस्पोजल टोली बोलाइएको थियो। शनिबार बिहानदेखि कालीभक्ती गणका सेनानी श्रीप्रसाद रामजाली र सिद्धीबक्स गणका सेनानी महेश अधिकारीको नेतृत्वमा नेपाली सेनाका इन्जिनियर टोलीसमेत परिचालन गरिएको छ।
प्रारम्भिक अनुमानअनुसार यी बम सशस्त्र द्वन्द्वकालीन समयमा लुकाएर राखिएको हुन सक्ने आशंका गरिएको छ। हाल फेला परेका सबै विस्फोटक सामग्री सुरक्षित रूपमा निष्क्रिय पार्ने तयारी भइरहेको प्रहरीले जनाएको छ।
#सल्यान #बमबरामद #द्वन्द्वकालीनहतियार





