सरकारविरुद्ध नेकपा (संयुक्त) को माइतीघरमा प्रदर्शनको घोषणा, ‘अध्यादेश र डोजरविरुद्ध आन्दोलन’

काठमाडौं — घनश्याम भुसाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (संयुक्त) ले बालेन्द्र शाह सरकारविरुद्ध माइतीघरमा विरोध प्रदर्शन गर्ने घोषणा गरेको छ। पार्टीले वैशाख २३ गते बुधबार दिउँसो १ बजे माइतीघर मण्डलामा प्रदर्शन आयोजना गर्ने जनाएको हो।
पार्टीका केन्द्रीय प्रचार विभाग प्रमुख दामोदर अर्यालले जारी गरेको अपिलमा सरकारले संसद् छलेर अध्यादेशमार्फत शासन गर्ने प्रवृत्ति अपनाएको र सुकुम्बासी बस्तीमा डोजर चलाएर नागरिकलाई घरबारविहीन बनाएको भन्दै विरोध जनाइएको छ। ‘बर्खायामको सुरुआतमै सुकुम्बासीको बस्ती हटाउने सरकारी कदमप्रति असहमति छ। यसविरुद्ध आन्दोलनमार्फत आवाज उठाउनेछौं,’ उनले भने।
सरकारको पछिल्लो कदमप्रति विभिन्न राजनीतिक दल तथा सरोकारवालाले असन्तुष्टि जनाइरहेका बेला नेकपा (संयुक्त) ले सडक आन्दोलनको घोषणा गर्दै पार्टीका कार्यकर्ता तथा आम नागरिकलाई प्रदर्शनमा सहभागी हुन आग्रह गरेको छ।
#नेकपासंयुक्त #प्रदर्शन #माइतीघर





