पूर्वी नाकाबाट ९ महिनामा साढे १६ अर्बको पेट्रोलियम आयात, साढे ७ अर्ब राजस्व सङ्कलन

काँकडभिट्टा — चालु आर्थिक वर्ष २०८२/८३ को चैत मसान्तसम्म पूर्वी नाका काँकडभिट्टाबाट १६ अर्ब ८१ करोड ३६ लाख ३० हजार रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ।
मेची भन्सार कार्यालयका सूचना अधिकारी एवं भन्सार अधिकृत ईश्वरकुमार हुमागाईंका अनुसार सो अवधिमा पेट्रोल, डिजेल, एलपी ग्यास, एटीएफ र कोइलालगायत वस्तु आयात भएका हुन्। पेट्रोलियम पदार्थ आयातबाट मात्र चालु आवको नौ महिनामा ७ अर्ब ४४ करोड ७८ लाख १८ हजार रुपैयाँ राजस्व सङ्कलन भएको उनले जानकारी दिए।
कार्यालयको तथ्याङ्कअनुसार उक्त अवधिमा ७ अर्ब ७५ करोड ९४ लाख रुपैयाँ बराबरको ८३ हजार ४४८ किलोलिटर पेट्रोल तथा ५ अर्ब ८७ करोड १८ लाख रुपैयाँ बराबरको ५५ हजार २४ किलोलिटर डिजेल आयात भएको छ। यस्तै, १ अर्ब ९० करोड ५९ लाख रुपैयाँ बराबरको १९ हजार १३६ मेट्रिक टन एलपी ग्यास, ५७ करोड ५१ लाख रुपैयाँ बराबरको ५ हजार ९८८ किलोलिटर एटीएफ तथा ७० करोड १२ लाख रुपैयाँ बराबरको ३४ हजार ५२४ मेट्रिक टन कोइला आयात भएको हुमागाईंले बताए।
#पेट्रोलियम #आयात #मेचीभन्सार #काँकडभिट्टा





