२४ बैशाख २०८३, बिहीबार

‘प्रेस स्वतन्त्रता पेचिलो बन्दै छ’ : पत्रकार महासङ्घ अध्यक्ष शर्माको चिन्ता, सरकारी विज्ञापनमा विभेदको आरोप

काठमाडौं — नेपाल पत्रकार महासङ्घकी अध्यक्ष निर्मला शर्माले पत्रकारविरुद्धका अपराधमा दण्डहीनता, सञ्चारमाध्यमको आर्थिक अवस्थामा गिरावट र पत्रकारको पेसागत तथा भौतिक सुरक्षामा जोखिमजस्ता कारणले प्रेस स्वतन्त्रता चुनौतीपूर्ण बन्दै गएको बताएकी छन्।

विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा शनिबार शुभकामना सन्देश जारी गर्दै उनले लोकतान्त्रिक संविधान लागू भएको एक दशक बितिसक्दा पनि मुलुकमा प्रेस स्वतन्त्रता हननका घटना बढ्दो क्रममा रहनु गम्भीर चिन्ताको विषय भएको बताइन्। ‘इतिहासदेखि नै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि राज्यका कुनै अङ्ग, तह वा अरू सङ्गठित र असङ्गठित क्षेत्रबाट सङ्कुचन वा नियन्त्रण गर्ने प्रयास भए पनि प्रेस जगतले सशक्त प्रतिवाद गर्दै आएको छ। अब पनि त्यस्तो प्रतिवाद गर्नुपर्ने अवस्था आइलाग्छ भन्नेमा महासङ्घ स्पष्ट छ,’ उनले भनिन्।

उनले पछिल्लो समय सरकारले गरेको सरकारी विज्ञापनमा विभेदपूर्ण व्यवहार, लोककल्याणकारी विज्ञापनको सङ्कुचन र अभिव्यक्ति स्वतन्त्रतामाथिकै अङ्कुशका प्रक्रिया भइरहेको आरोप लगाइन्। यस वर्षको प्रेस स्वतन्त्रता दिवसको नारा ‘शान्तिपूर्ण भविष्यको निर्माण : मानव अधिकार, विकास र सुरक्षाका लागि प्रेस स्वतन्त्रता प्रवर्द्धन’ रहेको छ। युनेस्कोले यस वर्ष जाम्बियाको लुसाकामा मे ४ र ५ मा विभिन्न कार्यक्रम गरी दिवस मनाउँदै छ भने अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ (आईएफजे) ले मे ४–७ मा पेरिसमा हुने महाधिवेशनमा यो दिवस मनाउँदै छ।

#प्रेसस्वतन्त्रतादिवस #पत्रकारमहासङ्घ #निर्मलाशर्मा

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button