२४ बैशाख २०८३, बिहीबार

‘प्रेस स्वतन्त्रता लोकतन्त्रको आधारस्तम्भ हो, सत्य सूचना प्रवाहमा निर्भय भएर लाग्नुहोस्’ — राष्ट्रपति पौडेल

काठमाडौं — राष्ट्रपति रामचन्द्र पौडेलले विश्व प्रेस स्वतन्त्रता दिवस (मे ३) को अवसरमा नेपाली सञ्चार जगत्लाई संविधानप्रदत्त अधिकारको पूर्ण प्रयोग र रक्षाका लागि निर्भयतापूर्वक सक्रिय भई आम नागरिकलाई सत्य सूचना सम्प्रेषण गर्न सफलता प्राप्त होस् भनी शुभकामना दिएका छन्।

स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण पत्रकार र नेपालीमा शुभकामना व्यक्त गर्दै राष्ट्रपति पौडेलले स्वतन्त्र पत्रकारितामार्फत सत्यको अन्वेषण र तथ्यको सम्प्रेषण गरी समाजमा सही र सत्य कुरा स्थापित गर्न विशेष ध्यान दिनुपर्ने बताए। ‘प्रेस स्वतन्त्रता लोकतन्त्रको आधारस्तम्भ हो। लोकतन्त्रका लागि भएका विभिन्न आन्दोलनमा प्रेसको भूमिका महत्त्वपूर्ण रहेको छ। प्रेस जति निष्पक्ष, स्वतन्त्र र सबल हुन्छ, लोकतान्त्रिक व्यवस्था पनि त्यति नै सुदृढ हुँदै जान्छ,’ उनले भने।

राष्ट्रपतिले बढ्दो सामाजिक सञ्जालको प्रयोग र यसबाट प्रवाहित हुनसक्ने मिथ्या तथा भ्रामक सूचनाले नागरिकलाई दिग्भ्रमित पार्न सक्ने र विद्यमान प्रणालीलाई कमजोर बनाउने चुनौती रहेको उल्लेख गर्दै त्यस्ता चुनौतीको सामना गर्दै जनतालाई सत्य, तथ्य र विश्वसनीय सूचना प्रवाह गर्न आजको दिनले नेपाली प्रेस जगत्लाई थप ऊर्जा, हौसला र उत्प्रेरणा देओस् भन्ने कामना गरे। ‘सूचना सङ्कलनदेखि प्रवाह गर्ने प्रक्रियासम्म स्वतन्त्र एवं निर्वाध रूपमा संलग्न भई सबै वर्ग एवं समुदायको आवाज मुखरित हुनुपर्छ,’ उनले भने।

#प्रेसस्वतन्त्रतादिवस #राष्ट्रपति #पौडेल

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button