पैंयूँ गाउँपालिकाद्वारा अकबरे खुर्सानीखेती प्रवर्द्धन, चार फार्मलाई अनुदान

पर्वत — दक्षिण पर्वतको पैंयूँ गाउँपालिकाले अकबरे खुर्सानी (डल्ले खुर्सानी) खेती प्रवर्द्धन कार्यक्रम सञ्चालन गरेको छ। स्थानीय किसानको आयआर्जन वृद्धि गर्ने उद्देश्यले पालिकाले किसानलाई अनुदान दिएर व्यावसायिक खुर्सानीखेतीतर्फ आकर्षित गरेको हो।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन गैरेका अनुसार चालु आर्थिक वर्षको स्वीकृत वार्षिक कार्यक्रमअन्तर्गत कृषि शाखामार्फत कृषक समूह, कृषि सहकारी तथा निजी फार्मलाई अनुदान दिएर खेती विस्तार गर्न थालिएको छ। इच्छुक किसानको प्राविधिक मूल्याङ्कनपछि चारवटा फार्म छनोट गरी कार्यक्रम अघि बढाइएको छ। छनोटमा परेका वडा नं ६ को हाडिकखर्क, वडा नं ३ को बेउलवास र कानुङ तथा वडा नं ४ को बेँसीथोक कृषि तथा पशुपन्छी फार्मलाई प्राविधिक सहयोग, तालिम, बीउबिजन, मलखाद तथा अनुदान प्रदान गरिनेछ। हरेक फार्मले कम्तीमा दुई रोपनी क्षेत्रफलमा व्यावसायिक खेती विस्तार गर्नुपर्ने प्रावधान राखिएको छ।
गाउँपालिका अध्यक्ष तोरण मल्ल ठकुरीका अनुसार अकबरे खुर्सानीको माग अत्यधिक र मूल्य उच्च रहने भएकाले किसानको जीवनस्तर सुधार्न सहयोग पुग्ने विश्वासका साथ किसानलाई यसतर्फ आकर्षित गर्न खोजिएको हो। ‘अन्य खुर्सानीको तुलनामा मूल्य धेरै हुने भएकाले यो किसानका लागि आकर्षक आम्दानीको स्रोत बन्नेछ,’ उनले भने। सानो क्षेत्रफलमा पनि राम्रो आम्दानी दिन सक्ने भएकाले साना किसानलाई पनि व्यावसायिक खेतीतर्फ लाग्न आग्रह गरिएको छ।
हाडिकखर्क फार्मका सञ्चालक यामबहादुर क्षेत्रीका अनुसार अकबरे खुर्सानी पोषणका हिसाबले पनि महत्त्वपूर्ण छ। यसमा भिटामिन सी, ए र ई प्रशस्त पाइन्छ, जसले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ। क्याप्साइसिन तत्वले पाचन प्रणाली सुधार गर्ने र रक्तसञ्चार सन्तुलित राख्ने विश्वास गरिन्छ। पैंयूँ गाउँपालिकाले कृषि आधुनिकीकरण, नगदे बाली प्रवर्द्धन तथा आत्मनिर्भर अर्थतन्त्र निर्माणलाई केन्द्रमा राख्दै यो कार्यक्रम अघि बढाएको जनाएको छ।





