राष्ट्रपति सीद्वारा चिनियाँ युवालाई राष्ट्रिय विकासको ठूलो तस्बिरमा व्यक्तिगत आकाङ्क्षा जोड्न आह्वान

काठमाडौं — चिनियाँ राष्ट्रपति सी चिनफिङले युवालाई आफ्नो व्यक्तिगत आकाङ्क्षालाई राष्ट्रिय विकासको ठूलो तस्बिरमा एकीकृत गर्न प्रोत्साहित गरेका छन्।
चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समितिका महासचिव तथा केन्द्रीय सैन्य आयोगका अध्यक्षसमेत रहेका सीले सोमबार पर्ने चीन युथ डे (युवा दिवस) को पूर्वसन्ध्यामा चीन युथ मे फोर्थ मेडल र न्यू इरा युथ पायोनियरका विजेताका प्रतिनिधिहरूलाई पठाएको जवाफी पत्रमा उक्त कुरा बताएका हुन्। साथै, उनले पत्रमा देशभरका युवालाई पर्वको शुभकामनासमेत दिएका छन्।
आफ्नो पत्रमा सीले यी आदर्श युवाहरूको प्रशंसा गरे, जो विज्ञान–प्रविधि नवप्रवर्तन, ग्रामीण पुनरुत्थान, सामाजिक सेवा र सीमा सुरक्षाजस्ता जमिनी तहका पदमा कार्यरत छन्। सीले उनीहरू नयाँ युगमा चिनियाँ युवाको आत्मविश्वासी, आत्मनिर्भर र उत्साही दृष्टिकोणको प्रतीक भएको उल्लेख गरे।
सन् २०२६ चीनको १५औं पञ्चवर्षीय योजना (२०२६–२०३०) को सुरुआती वर्ष भएकोमा जोड दिँदै सीले वर्तमान समय युवाका लागि देशको विकासमा योगदान गर्ने उत्कृष्ट अवसर भएको बताए। राष्ट्रपतिले चिनियाँ युवालाई आफ्नो पदमा दृढतापूर्वक रहन, नयाँ उपलब्धि हासिल गर्न प्रयास गर्न र राष्ट्रको विकासको नयाँ यात्रालाई अघि बढाउन आफ्नो युवा ऊर्जा प्रदान गर्न आग्रह गरे।
चीन युथ मे फोर्थ मेडल र न्यू इरा युथ पायोनियर राजनीतिक प्रगति, उच्च नैतिक चरित्र र समाजमा महत्त्वपूर्ण योगदान पुर्याउने उत्कृष्ट युवा आदर्शहरूलाई सम्मानित गर्न बनाइएको हो। हालै, सन् २०१२ देखि यी उपाधि जितेका १६ जना पुरस्कार विजेताले राष्ट्रपतिलाई पत्र लेखेर जमिनी तहमा सेवा गर्दाको आफ्नो काम र अन्तर्दृष्टिबारे जानकारी गराउँदै राष्ट्रिय विकासमा योगदान गर्ने आफ्नो सङ्कल्प दोहोर्याएका थिए।





