२० बैशाख २०८३, आईतवार

इन्धन खर्च ५० प्रतिशत नाघेपछि आन्तरिक वायुसेवा सङ्कटमा, सेवा नै बन्द हुने चेतावनीसहित सरकारसँग राहतको माग

काठमाडौं — आन्तरिक वायुसेवा कम्पनीहरूको छाता सङ्गठन ‘वायुसेवा सञ्चालक सङ्घ नेपाल’ ले आन्तरिक वायुसेवा कम्पनीहरू गम्भीर आर्थिक सङ्कटमा परेको उल्लेख गर्दै सरकारसँग तत्काल राहत तथा सहुलियतको माग गरेको छ। सङ्घले बिहीबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई पत्र पठाउँदै इन्धन मूल्यवृद्धि, घट्दो यात्रु सङ्ख्या र अन्तर्राष्ट्रिय परिस्थितिका कारण हवाई सेवा क्षेत्र अत्यन्त दबाबमा परेको जनाएको छ।

सङ्घका अध्यक्ष प्रतापजंग पाण्डेका अनुसार कोरोना महामारीपछिको असर पूर्ण रूपमा नहट्दै मध्यपूर्व क्षेत्रको अस्थिरताले हवाई इन्धनको मूल्य उल्लेख्य बढाएको छ। यसले सञ्चालन खर्चमा तीव्र वृद्धि भएको छ। ‘इरानमा आक्रमण हुनुअघि इन्धन खर्च कूल सञ्चालन खर्चको ३०–४० प्रतिशत रहेकोमा अहिले बढेर ४५–५० प्रतिशतसम्म पुगेको छ,’ सङ्घले पत्रमार्फत जानकारी दिएको छ। साथै, पदयात्रामा आउने पर्यटकको सङ्ख्या घट्दा आम्दानी कम भएको र कम्पनीहरू दैनिक सञ्चालनमै समस्या भोगिरहेको बताइएको छ। यस्तो अवस्था रहे केही कम्पनीले सेवा नै बन्द गर्नुपर्ने अवस्था आउने चेतावनी पनि दिइएको छ।

हाल नेपालमा ९ वटा आन्तरिक वायुसेवा कम्पनीले दुर्गम क्षेत्रदेखि मुख्य सहरसम्म हवाई सेवा दिँदै आएका छन्। सङ्घले नेपाल नागरिक उड्डयन प्राधिकरणले लिने ल्यान्डिङ, पार्किङ, नेभिगेसन, ह्याङ्गर शुल्कलगायतमा ५० प्रतिशत छुट दिनुपर्ने माग गरेको छ। त्यस्तै, प्राधिकरणको शुल्क नियमावली संशोधन गरी आन्तरिक उडान शुल्क घटाउनुपर्ने, हवाई सेवा उद्योगलाई प्राथमिकता प्राप्त उद्योग सरह कर छुट तथा प्रोत्साहन दिनुपर्ने र अमेरिकी डलरमा लिइने शुल्क नेपाली रुपैयाँमा निर्धारण गर्नुपर्ने मागसमेत पत्रमा गरिएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button