संसद छलेर अर्को अध्यादेश, राष्ट्रपतिबाट ‘केही नेपाल ऐन संशोधन’ स्वीकृत

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल सरकारको सिफारिसमा ‘केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३’ जारी गरेका छन्। वैशाख २० गते आइतबार (२०८३ साल) जारी यो अध्यादेशसँगै हाल चलिरहेको ‘अध्यादेश राज’ को शृङ्खला थप लम्बिएको छ ।
राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यद्वारा हस्ताक्षरित विज्ञप्तिअनुसार नेपालको संविधानको धारा ११४ को उपधारा १ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा उक्त अध्यादेश तत्काल कार्यान्वयनमा आउने गरी प्रमाणीकरण भएको हो ।
यसअघि शनिबार मात्र राष्ट्रपति पौडेलले विश्वविद्यालय र स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी दुई अध्यादेशका साथै सार्वजनिक पदाधिकारीहरूको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था गर्न बनेको अध्यादेश जारी गरेका थिए। संवैधानिक परिषद्सम्बन्धी भने यसअघि नै फिर्ता पठाइएको जनाइएको छ ।
कुन कुन ऐन संशोधन गरिएको भन्ने विस्तृत विवरण सार्वजनिक नभए पनि मन्त्रिपरिषद्ले ‘समसामयिक परिमार्जन’ का लागि यो अध्यादेश ल्याएको सरकारी अधिकारीहरूको भनाइ छ। तर संसद्को अधिवेशन अगावै स्थगन गरेर पटकपटक अध्यादेश ल्याइनुले सरकारको नियतमाथि प्रश्न उठेको छ ।





