सेशेल्सदेखि मडागास्करसम्मको आकाश छलेर, ताइवानी राष्ट्रपतिको इस्वाटिनी नाटकीय भ्रमण

एजेन्सी। तीन अफ्रिकी मुलुकले आकाश मार्ग नै अस्वीकार गरेपछि अनिश्चित बनेको भ्रमणलाई अन्ततः ‘गोप्य तयारी’ का साथ पूरा गर्दै ताइवानका राष्ट्रपति विलियम लाई चिङ-ते इस्वाटिनी पुगेका छन्। शनिबार पूर्व स्वाजिल्याण्ड भनिने उक्त राजतन्त्रमा पुगेका लाईलाई सैनिक शैलीको स्वागत समारोह दिइएको थियो।
राष्ट्रपति लाईले फेसबुकमार्फत यो भ्रमण ‘कूटनीतिक र राष्ट्रिय सुरक्षा टोलीको सूक्ष्म तयारीपछि मात्र सम्भव भएको’ उल्लेख गरेका छन्। तर, उनी कुन मार्ग हुँदै त्यहाँ पुगे भन्ने विवरण सार्वजनिक गरिएको छैन।
यो भ्रमण मूलतः अप्रिल अन्त्यका लागि तय भएको थियो। तर, सेशेल्स, मौरिसस र मडागास्करले चीनको दबाबमा लाईको चार्टर विमानलाई उडान अनुमति रद्द गरिदिएपछि भ्रमण प्रभावित बनेको थियो। ताइवानको राष्ट्रपति कार्यालयले उक्त रोकलाई ‘अन्तर्राष्ट्रिय समुदायमा बेइजिङको आर्थिक दबाबको अभूतपूर्व कदम’ को संज्ञा दिएको छ।
इस्वाटिनीमा भने लाईले राजा म्स्वाती तृतीयसँग भेटवार्ता गरी विभिन्न व्यापार सम्झौतामा हस्ताक्षर गरे। अफ्रिकी महादेशमा ताइवानलाई औपचारिक मान्यता दिने एकमात्र मुलुक इस्वाटिनी नै हो। लाईले विभिन्न दबाबका बाबजुद ताइवानको पक्षमा उभिएकोमा राजा म्स्वातीलाई धन्यवाद दिए।
उता, चीनले भने यस भ्रमणको कडा आलोचना गरेको छ। चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले लाईको इस्वाटिनी भ्रमणलाई ‘हास्यास्पद नाटक’ को संज्ञा दिँदै उनले विदेशी विमान प्रयोग गरेर ‘तस्करी शैली’ मा देशबाट बाहिरिएको आरोप लगाएका छन्।
चीनले दशकौँदेखि ताइवानलाई आफ्नो भूभाग दाबी गर्दै अन्य मुलुकलाई उसँगको औपचारिक सम्बन्ध तोड्न दबाब दिँदै आएको छ। हाल ताइवानसँग केवल १२ मुलुकको मात्र कूटनीतिक सम्बन्ध बाँकी छ। तीमध्ये इस्वाटिनी मात्र एक्लो अफ्रिकी साझेदार हो।
लाईले कुनै पनि देशलाई ताइवानलाई विश्व समुदायमा योगदान दिनबाट रोक्ने अधिकार नभएको भन्दै आफ्नो अडान दोहोर्याएका छन्।





