‘सबै सुकुम्वासीलाई असुरक्षित बनाइँदैन’ : रविको आश्वासन, तर विद्यार्थीको पढाइबारे प्रश्न उठ्नासाथ हतारमा प्रस्थान

काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकारले कुनै पनि सुकुम्वासीलाई असुरक्षित नबनाउने दाबी गरेका छन्। पार्टी कार्यालयमा आइतबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले सुकुम्वासीलाई अहिले त्रसित बनाउने काम भइरहेको भए पनि सुरक्षित स्थानमा पुर्याउने जिम्मेवारी सरकारको भएको बताए।
‘देशैभरिका सुकुम्वासी साथीहरूलाई विनम्रताका साथ फेरि पनि म यो सन्देश दिन्छु। जुन तरिकाले तपाईंहरूलाई आतंकित पारेर आज नै उठाउँछ, भोलि नै उठाउँछ भनेर आपत् पार्ने काम भएको छ, केन्द्र सरकारले त्यो गरेको छैन,’ उनले भने, ‘असुरक्षित हुनुहुन्छ भने तपाईंलाई सुरक्षित ठाउँमा सार्ने काम केन्द्र सरकारको हो। पार्टीको निर्देशन पनि सरकारलाई त्यही छ। त्योभन्दा बाहिर गएको कुरामा पार्टीले पनि सरकारलाई सचेत गराएको छ।’
तर, सोही क्रममा एक सञ्चारकर्मीले सुकुम्वासी विद्यार्थीहरूको पढाइमा परेको असरबारे प्रश्न गर्दा भने सभापति लामिछानेले कुनै जवाफ नदिई हतार–हतार गाडी चढेर पार्टी कार्यालयबाट प्रस्थान गरे।





