लिपुलेखबारे भारतको कडा जवाफ : ‘दशकौँ पुरानो मार्ग, नयाँ विकास होइन’

काठमाडौँ। नेपालको परराष्ट्र मन्त्रालयले वार्षिक कैलाश-मानसरोवर तीर्थयात्राका सन्दर्भमा सीमा विवादसम्बन्धी अभिव्यक्ति दिएपछि भारतले त्यसको प्रष्ट र कडा जवाफ फर्काएको छ।
भारतीय विदेश मन्त्रालयका आधिकारिक प्रवक्ताले शनिबार सञ्चारमाध्यमको जिज्ञासामा भनेका छन्, “यस विषयमा भारतको अडान निरन्तर र प्रष्ट रहेको छ। सन् १९५४ देखि लिपुलेख भञ्ज्याङ कैलाश-मानसरोवर तीर्थयात्राको दीर्घकालीन मार्ग हो र यो मार्ग हुँदै दशकौँदेखि यात्रा भइरहेको छ। यो कुनै नयाँ विकास होइन।”
प्रवक्ताले भूभागसम्बन्धी दाबीका विषयमा भारतको पुरानो अडान दोहोर्याउँदै भने, “यस्ता दाबी न त न्यायोचित छन्, न ऐतिहासिक तथ्य र प्रमाणमा आधारित। यस प्रकारको एकपक्षीय कृत्रिम भूभाग विस्तारको दाबी अग्राह्य छ।”
उनले द्विपक्षीय सम्बन्धका सबै विषयमा नेपालसँग रचनात्मक अन्तरक्रियाका लागि भारत खुला रहेको पनि बताए। “सहमति भएका बाँकी सीमा समस्या समाधानका लागि वार्ता र कूटनीतिक माध्यम प्रयोग गर्न भारत तयार छ,” प्रवक्ताको भनाइ उद्धृत गरिएको छ।
भारतीय विदेश मन्त्रालयबाट २०२६ मे ३ मा जारी उक्त धारणाले नेपाल-भारत सीमा विवादबारे दुई देशबीचको संवादको ढोका भने खुला राखेको सङ्केत गरेको छ।





