२१ बैशाख २०८३, सोमबार

‘डोजरले झुपडी मात्र होइन, लोकतन्त्रको जग पनि भत्काउँछ’ : सभापति थापा

काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले धम्क्याएर र लखेटेर सुकुमवासी हटाउने काम तत्काल बन्द गर्न सरकारसँग माग गरेका छन्। शुक्रबार सामाजिक सञ्जालमार्फत उनले वास्तविक भूमिहीनको पहिचान र पुनर्स्थापनाको आधार नबनाई डोजर चलाउने प्रवृत्तिप्रति कडा असन्तुष्टि जनाएका हुन्।

थापाले संविधानले नै भूमिहीन दलित र सुकुमवासीलाई एकपटकका लागि जग्गा उपलब्ध गराउने कानुनी व्यवस्था गरेको स्मरण गराउँदै वास्तविक पीडितको पहिचान र पुनर्स्थापनाको नीतिगत बाटो प्रस्ट रहेको बताए। यद्यपि, सुकुमवासीको आवरणमा राज्यलाई ठग्ने अपराधीलाई भने कारबाही गर्नैपर्नेमा उनले जोड दिए।

सभापति थापाले लेखेका छन्, “आजको सरकारसँग प्रचण्ड बहुमत छ। हामी सहयोगी बन्न तयार नै थियौँ। सडकमा डोजर चलाउनुभन्दा त्यही कानुनलाई प्रयोग गरेर दशौँ गुणा तीव्र गतिमा काम गर्न सकिन्थ्यो।”

उनले डोजरले नागरिकको झुपडी मात्र नभई उनीहरूको मर्यादा र राज्यप्रतिको भरोसा पनि भत्काएको जिकिर गरे। “सस्तो लोकप्रियताका लागि गरिएको निर्मम प्रहारले सडक खाली गराए पनि लोकतन्त्रको जग कमजोर बनाउँछ,” थापाको भनाइ छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button