पूर्णिमाको चाडले हिल्सा नाका पाँच दिन ठप्प, यात्रु आवतजावतमा भने रोक छैन

हिल्सा। चीनसँग सीमा जोडिएको उत्तरी हिल्सा नाकाबाट सामान आयातमा पूर्ण रूपमा रोक लगाइएको छ। वैशाख पूर्णिमाको अवसरमा चीनको पुराङ काउन्टीस्थित ताक्लाकोटमा चाडपर्व परेकाले निर्यात बन्द गरिएको हो।
सशस्त्र प्रहरी बलको सीमा सुरक्षा चौकी हिल्साका सशस्त्र प्रहरी नायब उपरीक्षक कृष्ण दाहालका अनुसार शनिबारदेखि बुधबारसम्म पाँच दिनका लागि ताक्लाकोटबाट हुने सामान आयात पूर्ण रूपमा बन्द गरिएको छ। “पूर्णिमाको अवसरमा चाडवाड भएको र सोही कारण बिदा भएकाले सामान निर्यातमा रोक लगाइएको हो,” उनले जानकारी दिए।
यद्यपि, मानिसहरूको आवतजावतमा भने कुनै रोकटोक गरिएको छैन। तर, ओहोरदोहोर गर्नेले कुनै पनि सामान ल्याउन भने पाएका छैनन्। आगामी बिहीबारदेखि पुनः ताक्लाकोटबाट सामान आयात सुचारु हुने जनाइएको छ।
यसैबीच, यारी नाका भन्सार कार्यालय सञ्चालन भएको पाँच दिनमै १४ हजार रुपैयाँ राजस्व असुली भएको कार्यालय प्रमुख रामराज जैसीले बताए।





