२१ बैशाख २०८३, सोमबार

घेराबन्दीमा परेको लेनिनग्राद र स्कटल्यान्डबीच आदानप्रदान भएको ‘ऐतिहासिक एल्बम’ प्रदर्शनीमा

एजेन्सी। दोस्रो विश्वयुद्धको एउटा हृदयस्पर्शी अध्यायलाई जीवन्त बनाउँदै स्कटल्यान्डको एयरड्री सहरस्थित पुस्तकालयले दुई ऐतिहासिक एल्बमको प्रदर्शनी सुरु गरेको छ। सन् १९४१ को सेप्टेम्बरमा जर्मन सेनाले लेनिनग्राद (हालको सेन्ट पिटर्सबर्ग) लाई घेराबन्दी गरी राखेका बेला एयरड्री र कोटब्रिजका महिलाले पठाएको ‘स्कटिस एल्बम’ र त्यसको प्रत्युत्तरमा लेनिनग्रादबाट पठाइएको ‘लेनिनग्राद एल्बम’को प्रतिलिपि प्रदर्शनीमा राखिएको छ।

पहिलो एल्बममा हस्तलिखित समर्थन सन्देश, रोबर्ट बर्न्सका कविता, चित्र तथा हजारौँ महिला श्रमिक, कम्युनिष्ट सङ्गठनका सदस्य र चर्चका अनुयायीको हस्ताक्षर समावेश छ। दुई साताको अवधिमा तयार पारिएको उक्त एल्बम लन्डनस्थित सोभियत दूतावास हुँदै लेनिनग्राद पठाइएको थियो। घेराबन्दीग्रस्त सहरमा ती समर्थनका शब्द सार्वजनिक सभामा ठूलो स्वरले पढेर सुनाइन्थ्यो। सुदूर स्कटल्याण्डमा पनि आफ्नो सङ्घर्ष र पीडालाई भुलिएको छैन भन्ने जानकारी लेनिनग्रादवासीलाई दिनु त्यतिबेला अत्यावश्यक थियो।

सन् १९४२ को सुरुमा लेनिनग्रादका महिलाले जवाफी एल्बम तयार पारे। जलरङ र प्रस्तरचित्रमा लेनिनग्रादको चित्रण, साझा शत्रुविरुद्धको दृढता र कृतज्ञताका शब्द तथा नेभा नदी किनारका हजारौँ महिलाको हस्ताक्षर समेटिएको उक्त एल्बम सन् १९४३ मा एयरड्री आइपुग्दा ‘रुस सप्ताह’ प्रदर्शनीको केन्द्रबिन्दु बनेको थियो।

दुवै एल्बमको प्रतिलिपि समय लिएर हेर्न सकिने व्यवस्था गरिएको छ। प्रदर्शनीमा ती वर्ष सोभियत सङ्घलाई सहयोग जुटाउन आयोजित कार्यक्रमका अभिलेख सामग्री तथा युद्धमा मातृभूमिको रक्षा गर्ने हजुरबुबा–हजुरआमाको सम्झनामा सेन्ट पिटर्सबर्गका स्कुले विद्यार्थीले लेखेको ‘अमर रेजिमेन्ट’ पुस्तक पनि राखिएको छ।

विजय दिवसको पूर्वसन्ध्यामा एडिनबर्गस्थित रुसी महावाणिज्यदूत डेनिस मोस्कालेन्कोले पत्नीसहित प्रदर्शनीको अवलोकन गर्दै दोस्रो विश्वयुद्धका बेला नाजीवादविरुद्ध दुई जनताबीचको साझा सङ्घर्ष र घेराबन्दीग्रस्त लेनिनग्रादका बासिन्दाको वीरताको स्मृति जोगाउन पुस्तकालय कर्मचारीले पुर्याएको योगदानप्रति धन्यवाद दिए।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button