२१ बैशाख २०८३, सोमबार

ट्रम्पको ‘अस्वीकार्य’ को जवाफमा इरानको शर्त : आणविक मुद्दा पछि, पहिले नाकाबन्दी हटाऊ

एजेन्सी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शान्ति वार्ताका लागि इरानले पेस गरेको नयाँ प्रस्तावलाई ‘अस्वीकार्य’ भन्दै अस्वीकार गरेका छन्। ट्रम्पले सामाजिक सञ्जालमार्फत इरानले ‘गत ४७ वर्षमा मानवता र विश्वविरुद्ध गरेको हानिको तुलनामा पर्याप्त मूल्य नचुकाएको’ टिप्पणी गरेका छन् ।

पाकिस्तानको मध्यस्थतामा इरानले पेस गरेको १४ बुँदे प्रस्तावमा आणविक सवाललाई पछिल्लो चरणमा राख्ने र पहिले अमेरिकी नाकाबन्दी हटाउने उल्लेख गरिएको छ। तर, ट्रम्पले सोमबार बिहानैदेखि होर्मुज जलडमरूमध्य हुँदै व्यावसायिक जहाजहरूको सुरक्षित आवागमन सुनिश्चित गर्न ‘प्रोजेक्ट फ्रिडम’ नामक अभियान सुरु गर्ने घोषणा गरेका छन् ।

समाचार संस्था फार्सका अनुसार इरानको प्रस्तावमा १५ वर्षसम्म युरेनियम संवर्धन रोक्ने सर्त समावेश छैन। साथै, ‘दुवै पक्षबीच अन्तिम सहमति नभएसम्म होर्मुज जलडमरूमध्य नखोल्ने’ अडान पनि इरानले राखेको छ। यसले अमेरिका र इरानबीचको तनावलाई थप बढाएको छ। इरानी विदेश मन्त्रालयका प्रवक्ता एस्माइल बगाईले भने अमेरिकी जवाफ अध्ययन भइरहेको र आफूहरूको प्रस्ताव युद्ध अन्त्यमा केन्द्रित रहेको बताएका छन् ।

अप्रिल ८ मा पाकिस्तानको मध्यस्थतामा युद्धविराम भए पनि इस्लामावादमा भएको प्रत्यक्ष वार्ता बिनानिष्कर्ष टुङ्गिएको थियो। होर्मुज जलडमरूमध्यमा जारी गतिरोधले विश्वव्यापी ऊर्जा आपूर्तिमा गम्भीर असर पुर्याइरहेको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button