युक्रेनी सैन्य संरचनामा रुसको व्यापक प्रहार, १४७ स्थानमा क्षति

मस्को। रुसी सेनाले युक्रेनभरि व्यापक हवाई तथा मिसाइल आक्रमण गर्दै सैन्य पूर्वाधार र गोलाबारूद भण्डारणमा गम्भीर क्षति पुर्याएको दाबी गरेको छ। रुसी रक्षा मन्त्रालयका अनुसार परिचालन-सामरिक उड्डयन, आक्रमणकारी ड्रोन, मिसाइल सेना र तोपखानाले १४७ क्षेत्रमा युक्रेनी सशस्त्र बलका हितमा प्रयोग भइरहेका यातायात पूर्वाधार सुविधा, गोलाबारुद डिपो, ड्रोन भण्डारण तथा तयारी केन्द्रहरू र युक्रेनी सैनिक तथा विदेशी भाडाका सैनिकको अस्थायी तैनाथी क्षेत्रमा क्षति पुर्याएको हो।
यसैबीच, रुसी रक्षा मन्त्रालयले केन्द्रीय समूह अन्तर्गतको ४०० औँ गार्डस् सेल्फ-प्रोपेल्ड आर्टिलरी रेजिमेन्टका सैनिकहरूलाई राजकीय तथा विभागीय पदक प्रदान गरिएको जनाएको छ। मन्त्रालयले सुपरक्याम ड्रोन र जाला ड्रोन टोली, ट्याङ्क चालक दल र तोपखाना सैनिकको कारबाहीका दृश्यसमेत सार्वजनिक गरेको छ।
रुसी पक्षले यी आक्रमणहरू युक्रेनको सैन्य क्षमतालाई कमजोर पार्ने रणनीतिको हिस्सा भएको बताउँदै आएको छ। युक्रेनी अधिकारीहरूले भने यसबारे तत्काल कुनै प्रतिक्रिया दिएका छैनन्।





