तेल प्रदूषणको मोर्चामा महिलालाई रोक, तुआप्से प्रशासनको निर्णय : ‘यो श्रम होइन, लडाइँ हो’

एजेन्सी। कालो सागर किनारको रुसी सहर तुआप्सेमा समुद्री किनार सफाइ अभियानमा महिलाको सहभागितामा रोक लगाइएको छ। स्थानीय प्रशासनले तटीय क्षेत्रमा फैलिएको माजुत (इन्धन तेल) सफाइ कार्यलाई अत्यधिक शारीरिक कष्टको भन्दै उक्त निर्णय गरेको हो।
तुआप्से जिल्ला प्रशासनका अनुसार अब यो सफाइ कार्यमा केवल पुरुषलाई मात्र अनुमति दिइनेछ। क्षेत्रीय सरकारको प्रेस सेवालाई उद्धृत गर्दै भनिएको छ, “हाम्रो प्रशासन महिलालाई यो काममा लगाउन चाहँदैन, किनभने यो निकै कठोर परिश्रमको काम हो। यो बालुवा होइन, गिट्टी हो, अनि त्यसमाथि माजुत पनि मिसिएको छ।”
प्रशासनले यो काम खतरनाक फोहोर व्यवस्थापनसम्बन्धी तालिम प्राप्त व्यक्तिहरूले मात्र गर्नुपर्नेमा जोड दिँदै उद्धारकर्मी, आपतकालीन मन्त्रालयका कर्मचारी र नगरपालिकाका सरसफाइ कर्मचारीलाई मात्र परिचालन गर्ने जनाएको छ। तेल ट्याङ्कर दुर्घटनापछि फैलिएको प्रदूषणले कालो सागरको वातावरण र पर्यटनमा गम्भीर असर पुगेको छ।





