२१ बैशाख २०८३, सोमबार

ट्रम्पको ‘प्रोजेक्ट फ्रिडम’ : होर्मुज जलडमरूमध्यमा फसेका जहाजलाई अमेरिकी सेनाको सकस

एजेन्सी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको तनावका कारण होर्मुज जलडमरूमध्यमा फसेका व्यापारिक जहाजहरूलाई सोमबारदेखि सुरक्षित रूपमा बाहिर निकाल्ने घोषणा गरेका छन्। ‘प्रोजेक्ट फ्रिडम’ नाम दिइएको यो अभियान मध्यपूर्वी समयअनुसार सोमबार बिहान सुरु हुने उनले जनाएका छन् ।

ट्रम्पले यसलाई युद्धमा प्रत्यक्ष संलग्न नभएका मुलुकहरूप्रतिको मानवीय सहयोगको रूपमा व्याख्या गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, “मध्यपूर्वको द्वन्द्वसँग कुनै सरोकार नभएका विश्वभरिका देशहरूले होर्मुज जलडमरूमध्यमा फसेका आफ्ना जहाजलाई मुक्त गराउन अमेरिकासँग सहयोगको अनुरोध गरेका छन्। यी जहाज केवल निर्दोष दर्शक मात्र हुन्।”

उनले धेरै जहाजमा खाद्यान्न लगायतका अत्यावश्यक वस्तुको अभाव भइरहेको पनि बताए। ट्रम्पले भने, “धेरै जहाजमा ठूलो सङ्ख्यामा रहेका चालक दललाई स्वस्थ र स्वच्छ तरिकाले राख्न आवश्यक खाद्यान्न र अन्य सामग्री सकिँदै गएको छ।” यद्यपि, यदि यस मानवीय प्रक्रियामा कुनै पनि प्रकारको अवरोध पुर्याइएमा त्यसको ‘बलपूर्वक’ सामना गरिने चेतावनी पनि उनले दिएका छन् ।

यो कदम इरानले अमेरिकाको ९ बुँदे प्रस्तावको जवाफमा पेस गरेको १४ बुँदे शान्ति प्रस्तावलाई ट्रम्पले ‘अस्वीकार्य’ भनेको केही घण्टापछि नै आएको हो । इरानले प्रस्तावमा ३० दिनभित्र सबै मुद्दा समाधान गर्नुपर्ने, सबै मोर्चाबाट अमेरिकी सेना फिर्ता गर्नुपर्ने र नाकाबन्दी हटाउनुपर्ने लगायतका सर्त राखेको जनाइएको छ ।

विश्वको कुल तेल र ग्यासको २० प्रतिशत ओसारपसार हुने यो रणनीतिक जलमार्ग गत फेब्रुअरीदेखि जारी द्वन्द्वका कारण अवरुद्ध हुँदा विश्वव्यापी इन्धन आपूर्ति र मूल्यमा गम्भीर असर परिरहेको छ । ट्रम्पले भने इरानसँगका छलफलहरू निकै सकारात्मक रहेको बताएका छन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button