एट्लान्टिकमा क्रुज जहाजमा रहस्यमय सङ्क्रमण : तीनको मृत्यु, हान्टाभाइरसको आशङ्का

एजेन्सी। एट्लान्टिक महासागरमा यात्रारत एक क्रुज जहाजमा रहस्यमय सङ्क्रमण फैलिँदा तीन जनाको मृत्यु भएको छ भने अन्य तीन जना बिरामी परेका छन्। विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले आइतबार साँझ पुष्टि गरेअनुसार मृतकमध्ये कम्तीमा एक जनामा हान्टाभाइरस सङ्क्रमण प्रयोगशाला परीक्षणबाट पुष्टि भइसकेको छ भने थप पाँच जनामा सङ्क्रमणको आशङ्का गरिएको छ ।
सिन्ह्वा समाचार संस्थालाई दिएको वक्तव्यमा डब्लुएचओले एट्लान्टिक महासागरमा यात्रारत उक्त क्रुज जहाजमा देखिएको सार्वजनिक स्वास्थ्य सङ्कटको अनुगमन र सहयोग भइरहेको जनाएको छ। प्रभावित ६ मध्ये एक जना हाल दक्षिण अफ्रिकाको सघन उपचार कक्षमा उपचाररत छन् ।
डब्लुएचओले घटनाको विस्तृत अनुसन्धान भइरहेको जानकारी दिएको छ, जसमा थप प्रयोगशाला परीक्षण र महामारीसम्बन्धी अध्ययन समावेश छ। यात्रु र चालक दललाई चिकित्सकीय सेवा र सहयोग उपलब्ध गराइएको छ भने भाइरसको जिनोम सिक्वेन्सिङ पनि भइरहेको छ ।
हान्टाभाइरस सामान्यतया सङ्क्रमित मुसा वा अन्य लोखर्के प्रजातिका जनावरको पिसाब र दिसाको सम्पर्कमा आउँदा मानिसमा सर्ने गर्छ। डब्लुएचओका अनुसार यो सङ्क्रमण विरलै एक व्यक्तिबाट अर्कोमा सर्न सक्छ र यसले गम्भीर श्वासप्रश्वाससम्बन्धी रोग निम्त्याउन सक्छ ।
डब्लुएचओले लक्षण देखिएका दुई यात्रुको चिकित्सकीय निकासीका लागि सदस्य राष्ट्र र जहाज सञ्चालकबीच समन्वय गरिरहेको छ भने जहाजमा रहेका अन्य यात्रुको पूर्ण सार्वजनिक स्वास्थ्य जोखिम मूल्याङ्कन र सहयोगको काम पनि भइरहेको छ।
यसअघिका विवरणअनुसार दक्षिण अफ्रिकाको राष्ट्रिय स्वास्थ्य विभागले एमभी होन्डियस नामक उक्त क्रुज जहाजमा तीव्र श्वासप्रश्वास सङ्क्रमणका कारण दुई जनाको मृत्यु भएको पुष्टि गरेको थियो। उक्त जहाज अर्जेन्टिनाको उस्वायाबाट केप भर्डेतर्फ जाँदै गर्दा यो घटना भएको हो ।
एक वृद्ध दम्पतीको मृत्यु भएको र अर्का एक जना दक्षिण अफ्रिकाको जोहानेसबर्गस्थित सघन उपचार कक्षमा उपचाररत रहेको विवरण पनि सार्वजनिक भएको छ। पहिलो लक्षण देखिएका ७० वर्षीय यात्रुको जहाजमै मृत्यु भएको थियो भने उनकी ६९ वर्षीया पत्नीको दक्षिण अफ्रिकी अस्पतालमा मृत्यु भएको थियो ।





