‘हामी युद्ध अन्त्य गर्न चाहन्छौँ’ : अमेरिकी जवाफ अध्ययन गरिरहेको इरानको दाबी

तेहरान। इरानी विदेश मन्त्रालयका प्रवक्ता एस्माइल बगाईले युद्ध अन्त्य गर्न आफूहरूले पेस गरेको १४ बुँदे प्रस्तावमा अमेरिकाले जवाफ फर्काइसकेको बताएका छन्। सरकारी सञ्चारमाध्यम आईआरआईबी टिभीसँग आइतबार बोल्दै उनले अमेरिकी जवाफमाथि अध्ययन भइरहेको जानकारी दिए।
प्रवक्ता बगाईले इरानी योजना पूर्ण रूपमा युद्ध अन्त्यमा केन्द्रित रहेकोमा जोड दिँदै भने, “यसमा आणविक क्षेत्रको विवरणसँग सम्बन्धित कुनै पनि विषय छैन।” उनले अहिलेको चरणमा लेबनान लगायत क्षेत्रीय रूपमा युद्ध अन्त्य गर्ने मापदण्डमा मात्र केन्द्रित रहेको बताए। “यस चरणमा हामी कुनै पनि आणविक वार्ता गरिरहेका छैनौँ,” बगाईको भनाइ छ।
यसैबीच, इरानी विदेशमन्त्री सेयद अब्बास अराग्चीले आइतबार ओमान र जर्मनीका आफ्ना समकक्षीहरूसँग टेलिफोन वार्ता गरी युद्धविरामका लागि भइरहेका पछिल्ला कूटनीतिक पहल र प्रयासबारे जानकारी गराएका छन्। इरानी विदेश मन्त्रालयद्वारा जारी विज्ञप्तिअनुसार अराग्चीले ओमानी विदेशमन्त्री सैयद बद्र बिन हमाद बिन हमुद अल बुसाइदी र जर्मन विदेशमन्त्री जोहान भाडेफुलसँग पछिल्ला क्षेत्रीय तथा अन्तर्राष्ट्रिय घटनाक्रमबारे छुट्टाछुट्टै विचारविमर्श गरेका हुन्।
गत फेब्रुअरी २८ मा इजरायल र अमेरिकाले तेहरान लगायत इरानी सहरहरूमा संयुक्त आक्रमण गर्दा तत्कालीन सर्वोच्च नेता अली खामेनी, वरिष्ठ कमान्डर तथा सर्वसाधारणको मृत्यु भएको थियो। त्यसको जवाफमा इरानले इजरायल र क्षेत्रमा रहेका अमेरिकी हितविरुद्ध क्षेप्यास्त्र तथा ड्रोन आक्रमण गरेको थियो।
अप्रिल ८ मा युद्धविराम लागू भए पनि इस्लामावादमा भएको इरानी र अमेरिकी प्रतिनिधिमण्डलबीचको प्रत्यक्ष वार्ता भने बिनानिष्कर्ष टुङ्गिएको थियो।





