२१ बैशाख २०८३, सोमबार

‘द डेभिल वेयर्स प्राडा २’ को धमाकेदार ओपनिङ, एकै साता २३ करोड डलर कमाइ

लस एन्जलस। करिब दुई दशकपछि पर्दामा फर्किएको हलिउडको चर्चित फिल्म ‘द डेभिल वेयर्स प्राडा’ को दोस्रो भागले विश्वव्यापी बक्स अफिसमा धमाकेदार सुरुवात गरेको छ। ट्वान्टिएथ सेन्चुरी स्टुडियोजको यो सिक्वेलले पहिलो सातान्तमै उत्तर अमेरिकी बजारमा अनुमानित ७ करोड ७० लाख डलर कमाएको मापन संस्था कमस्कोरले आइतबार जनाएको छ।

यो हास्य नाटक विधाको फिल्मले अन्तर्राष्ट्रिय बजारमा थप १५ करोड ६६ लाख डलर कमाउँदै विश्वभरिमा कुल २३ करोड ३६ लाख डलरको सुरुवाती व्यापार गरेको छ।

सन् २००६ को मूल फिल्मका निर्देशक डेभिड फ्राङ्केलले निर्देशन गरेको यो सिक्वेलमा मुख्य कलाकार मेरिल स्ट्रिप, एन ह्याथवे, एमिली ब्लन्ट र स्टान्ली टुची करिब २० वर्षपछि मिरान्डा, एन्डी, एमिली र नाइजेलको प्रतिष्ठित भूमिकामा फर्किएका छन्।

समीक्षा सङ्कलन वेबसाइट रोटेन टोमाटोजमा २२६ समीक्षाका आधारमा यो फिल्मले ७७ प्रतिशत सकारात्मक रेटिङ प्राप्त गरेको छ। बजार अनुसन्धान संस्था सिनेमास्कोरले गरेको मत सर्वेक्षणमा दर्शकबाट ‘ए माइनस’ ग्रेड पाएको फिल्मले पुरानै स्टाइलिश अन्दाजमा दर्शकको मन जितेको देखिन्छ।

यसैगरी, लायन्सगेटको माइकल ज्याक्सनको जीवनीमा बनेको फिल्म ‘माइकल’ दोस्रो सातन्तमा ५ करोड ४० लाख डलर कमाइसहित दोस्रो स्थानमा झरेको छ। यो फिल्मले उत्तर अमेरिकामा कुल १८ करोड ३८ लाख र विश्वभर ४२ करोड ३९ लाख डलरको आँकडा पार गरिसकेको छ।

युनिभर्सल र इलुमिनेसनको एनिमेटेड फिल्म ‘द सुपर मारियो ग्यालेक्सी मुभी’ पाँचौँ साता १ करोड २१ लाख डलर कमाउँदै तेस्रो स्थानमा रहेको छ। यसको उत्तर अमेरिकी व्यापार ४० करोड २७ लाख डलर पुगेको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button