२१ बैशाख २०८३, सोमबार

ढोलझ्याम्टाले गुञ्जियो खोटाङ, यलम्बर पार्कमा पहिलोपटक साकेला सिली

खोटाङ। किरात समुदायको मुख्य चाड ‘साकेला उँभौली’ वैशाख पूर्णिमादेखि देश तथा विदेशमा एकसाथ सुरु भएको छ। माझकिरातको राजधानी मानिने खोटाङमा यो चाड विशेष उल्लासका साथ मनाइँदै छ। यस वर्षको विशेषता भनेको बुइपास्थित पञ्चदोबाटोमा नवनिर्मित प्रथम किराती राजा यलम्बरको ११० फिट अग्लो शालिकसहितको यलम्बर पार्कमा पहिलोपटक वृहत् साकेला सिली प्रदर्शन गरिएको हो।

श्रम संस्कृति पार्टीका केन्द्रीय अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य हर्कराज राई (हर्क साम्पाङ) को प्रमुख आतिथ्यमा भएको सिली प्रदर्शनीमा हजारौँको सहभागिता रहेको थियो। उक्त अवसरमा युवायुवतीको उल्लेख्य उपस्थितिले पुर्ख्यौली संस्कृतिप्रति नयाँ पुस्ताको बढ्दो मोह झल्काएको छ।

किरात समुदायले वर्षको दुईपटक मनाउने यो चाडमा ‘अन्नबाली सप्रियोस्, रोगव्याधी नलागोस् र प्राकृतिक विपत्ति नआओस्’ भन्ने कामनासहित प्रकृति र पितृको पूजा गर्ने चलन छ। भूमि पूजामा कुखुराको भाले, चोखो जाँडरक्सी, अदुवा र पहेँलो अक्षता प्रयोग गरिन्छ। मझुवागढी, रुपाकोटगढी, जन्तेढुङ्गा, छोङ्खा, कपासेभञ्ज्याङ लगायतका ऐतिहासिक साकेला थानमा विशेष पूजाआजा र सिली प्रदर्शन जारी छ।

चराचुरुङ्गी तथा जीवजन्तुको नक्कल गर्दै छितको गुन्यू, मखमलको चोली, दौरासुरुवाल र ढाका टोपीजस्ता मौलिक पोसाकमा सजिएर ढोल र झ्याम्टाको तालमा नाचिने यो सिलीले गाउँबस्ती नै गुञ्जायमान बनेका छन्। विशेषगरी टोलटोलमा पुग्ने सिली टोलीलाई किराती मिष्टान्न परिकारसहित स्वागत सत्कार गर्ने चलनले गाउँघरमा चहलपहल बढेको छ।

किरात राई यायोक्खा खोटाङका जिल्ला अध्यक्ष युगशन किरातले अहिले साकेला चाड किरात मात्र नभई सबै जातजाति र धर्मको साझा चाड बन्दै गएको बताए। “साकेला सिलीमा गैरकिरात युवायुवतीको पनि उत्तिकै सहभागिता हुन्छ। यसले जातीय सहिष्णुता, एकता र सामाजिक सद्भाव विकास गर्न ठूलो भूमिका खेलेको छ,” अध्यक्ष किरातले भने।

यसैगरी, चाडकै अवसरमा पराइघर गएका छोरीचेली माइती फर्किने, रोजगारीका लागि सहर पसेका आफन्त पुर्ख्यौली घर फर्किने र सुखदुःख साटासाट गर्ने चलनले पनि यसको सांस्कृतिक महत्त्व अझ गहिरो बनाएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-११ का स्थानीय दिलकुमार राई बताउँछन्। पूर्वी नेपालका पहाडदेखि तराईका विभिन्न जिल्लासहित विदेशमा समेत यो चाड मनाइन्छ। उँभौली महिना दिन र मङ्सिरमा मनाइने उधौली १५ दिनसम्म मनाउने प्रचलन रहेको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button