युवा दिवसको पूर्वसन्ध्यामा राष्ट्रपति सीको सन्देश : व्यक्तिगत सपनालाई राष्ट्रिय विकाससँग जोड्न आह्वान

बेइजिङ। चिनियाँ राष्ट्रपति सी चिनफिङले युवा पुस्तालाई आफ्नो व्यक्तिगत आकाङ्क्षालाई राष्ट्रिय विकासको ठूलो तस्वीरसँग जोड्न प्रोत्साहित गरेका छन्। चीनको युवा दिवसको पूर्वसन्ध्यामा ‘चीन युथ मे फोर्थ मेडल’ र ‘न्यु एरा युथ पायोनियर’ का प्रतिनिधिहरूलाई पठाइएको जवाफी पत्रमा उनले उक्त कुरामा जोड दिएका हुन्।
सीले पत्रमा देशभरिका युवालाई चाडपर्वको शुभकामना दिँदै विज्ञान-प्रविधि नवप्रवर्तन, ग्रामीण पुनरुत्थान, सामाजिक सेवा र सीमा रक्षाजस्ता जमीनीस्तरका क्षेत्रमा कार्यरत यी उदाहरणीय युवाको प्रशंसा गरे। उनले यी युवाले नयाँ युगका चिनियाँ युवाको आत्मविश्वासी, आत्मनिर्भर र उत्साही स्वरूपको प्रतिनिधित्व गरेको उल्लेख गरे।
सन् २०२६ चीनको १५औँ पञ्चवर्षीय योजना (सन् २०२६-२०३०) को पहिलो वर्ष रहेको चर्चा गर्दै राष्ट्रपति सीले अहिलेको समय युवाका लागि देशको विकासमा योगदान दिने उत्कृष्ट अवसर भएको बताए। उनले युवालाई आ-आफ्नो ठाउँमा रहेर नयाँ उपलब्धि हासिल गर्न र राष्ट्रको नयाँ विकास यात्रामा युवा जोश भर्न आग्रह गरे।
‘चीन युथ मे फोर्थ मेडल’ र ‘न्यु एरा युथ पायोनियर’ राजनीतिक प्रतिबद्धता, उच्च नैतिक चरित्र र समाजप्रति उल्लेखनीय योगदान पुर्याउने उत्कृष्ट युवा रोल मोडललाई सम्मान गर्न स्थापित गरिएको हो। हालै सन् २०१२ यताका १६ जना पुरस्कार विजेताले राष्ट्रपतिलाई पत्र लेख्दै जमीनीस्तरमा सेवा गर्दाको अनुभव र कार्यप्रगति सुनाउनुका साथै राष्ट्रिय विकासमा योगदान दिने सङ्कल्प पनि दोहोर्याएका थिए।





