पाँच सय वर्ष पुरानो सादु गुम्बा : हावासँग नाच्दै गरेका ध्वजा र भित्तामा बौद्ध दर्शनको सङ्ग्रहालय

लि धेङ, सिचुवान। सिचुवान प्रान्तको रङ्वा क्षेत्रस्थित लि धेङको दुर्गम ओबोचु उपत्यकामा अवस्थित सादु गुम्बा शान्त र मौन रूपमा उभिएको छ। पाँच सय वर्षको कालखण्ड पार गरिसकेको यो प्राचीन गुम्बाले हावासँगै फरफराउँदै घुमिरहेका रङ्गीचङ्गी ध्वजाहरूसँग संवाद गरिरहेको भान हुन्छ। ङिङमा सम्प्रदायको यो ऐतिहासिक गुम्बा एक सन्तपुरुषले झैँ शान्त र सौम्य मुद्रामा बौद्ध धर्मको ज्ञान र करुणालाई आत्मसात् गरिरहेको छ।


बिहानीपख सादु गुम्बाका प्रत्येक इँट्टामा तिब्बती संस्कृतिको अद्भुत सौन्दर्य झल्किन्छ भने भवनभित्र रहेका भित्तेचित्रहरू एक एक गरी नियाल्दा यो गुम्बा एउटा जीवन्त कला प्रदर्शनी केन्द्रजस्तै लाग्छ। ङिङमा परम्पराको ‘सादु पद्म ओदलिङ’ नामले परिचित यो गुम्बा सन् १४३५ मा स्थापना भएको थियो। लामो समयको उतारचढावका क्रममा पटकपटक पुनर्निर्माण भए पनि त्यतिबेला स्रोतसाधनको अभावमा राम्रोसँग जीर्णोद्धार हुन सकेको थिएन।
हाल मठाधीश ज्यायुतेको नेतृत्वमा भिक्षुहरूले यस प्राचीन गुम्बाको पुनरुत्थान गरिरहेका छन्। प्रत्येक काठको खाँबो र प्रत्येक भित्तेचित्र अनेकौँ व्यक्तिको कठोर परिश्रम र पसिनाको साक्षी बनेका छन्। अहिलेको सादु गुम्बा केवल आस्थाको केन्द्र मात्र नभई तिब्बती सांस्कृतिक कलाको जीवन्त सङ्ग्रहालयका रूपमा स्थापित भएको छ।





