२१ बैशाख २०८३, सोमबार

मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरणको छापा, ‘व्यक्तिगत चरित्रमा आघात पुग्यो’

हेटौंडा — सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको हेटौंडा र काठमाडौंस्थित घर तथा कार्यालयमा सोमबार छापा मारी कागजात नियन्त्रणमा लिएको छ। विभागको कारबाहीप्रति मुख्यमन्त्री बानियाँले आफ्नो व्यक्तिगत र सामाजिक चरित्रमा आघात पुगेको भन्दै आपत्ति जनाएका छन्।

मुख्यमन्त्री बानियाँले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले मेरो हेटौंडा र काठमाडौंस्थित घर तथा कार्यालयमा छापा मारी कागजात नियन्त्रणमा लिएकोप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ।’ उनले आफू सुशासन, पारदर्शिता र भ्रष्टाचारमुक्त समाज निर्माणलाई प्राथमिकतामा राखेर काम गरिरहेको दाबी गर्दै प्रदेश सरकारको खर्च कटौती तथा आर्थिक मितव्ययीताका लागि निरन्तर प्रयासरत रहेको बताएका छन्।

राजनीतिक तथा व्यावसायिक जीवनबारे हुने छानबिनलाई सकारात्मक रूपमा लिएको जनाउँदै उनले राज्यका कुनै पनि निकायले अनुरोध गर्दा उपस्थित हुन तयार रहँदारहँदै अकस्मात् गरिएको छापामारीप्रति असन्तुष्टि व्यक्त गरेका छन्। साथै, उनले संवैधानिक तथा कानुनी दायराभित्र रहेर हुने अनुसन्धानमा पूर्ण सहयोग रहने प्रतिबद्धता जनाउँदै उक्त घटनाबाट प्रदेशवासी र शुभेच्छुकहरू भ्रमित नहुन आग्रह गरेका छन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button