पाँच मिनेटको स्वतन्त्रता

काठमाडौं । धितोपत्र मुद्दामा पाँच लाख धरौटी बुझाएर रिहा भएका नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष शेखर गोल्छा हिरासतबाट बाहिर ननिस्किँदै पुनः पक्राउ परेका छन्।
सर्वोच्च अदालतको परमादेशपछि सोमबार धरौटीमा रिहा भएका गोल्छालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले बीमा ऐनअन्तर्गतको कसुरमा अनुसन्धानका लागि नियन्त्रणमा लिएको हो।
यसअघि सर्वोच्च अदालतका न्यायाधीशद्वय महेश शर्मा पौडेल र श्रीकान्त पौडेलको संयुक्त इजलासले धितोपत्र मुद्दामा गोल्छाविरुद्धको बन्दी प्रत्यक्षीकरण रिट खारेज गरेको थियो। तर अदालतले हिरासतमा राख्ने प्रक्रियामा कानुनी त्रुटि भएको ठहर गर्दै धितोपत्र ऐनको दफा १०४ अनुसार फरार हुने वा बिगो हानी नोक्सानीको अवस्थामा मात्रै धरौटी माग्न सकिने व्यवस्था स्मरण गराएको थियो।
सोही आदेशपछि पाँच लाख धरौटी बुझाएर रिहा हुने क्रममा गोल्छालाई सीआईबीले बीमासम्बन्धी अर्को मुद्दामा नियन्त्रणमा लिएको हो। पाँच मिनेटको अन्तरालमा एक मुद्दाबाट मुक्त भएका गोल्छा अर्कै मुद्दामा पक्राउ परेपछि प्रश्न उठेको छ।





