२२ बैशाख २०८३, मंगलवार

दुई दिने बिदा स्थायी गर्ने तयारी, मन्त्रीले भने- परीक्षणकै अन्तिम चरण

काठमाडौं । सरकारले हप्तामा दुई दिन सार्वजनिक बिदा दिने व्यवस्थालाई स्थायी रूपमा कार्यान्वयन गर्ने तयारी गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले केही समययता परीक्षणका रूपमा लागू गरिएको दुई दिने बिदालाई स्थायी बनाउने गरी अध्ययन भइरहेको बताएका हुन् ।

सोमबार मन्त्रालयमा उपत्यकाका महानगर प्रमुख तथा उच्च अधिकारीहरूसँगको छलफलमा मन्त्री पोखरेलले भने, ‘अब स्थायी रूपमै दुई दिन नै सार्वजनिक बिदा दिने कि भनेर अध्ययन भइरहेको छ । अहिले त्यसकै परीक्षण भइरहेको हो ।’

उनले शुल्क निर्धारण र छात्रवृत्तिका विषयमा धेरै गुनासो आउन थालेको भन्दै पारदर्शी बनाउन आग्रह गरे । शुल्क सम्बन्धी गुनासो पालिका तहमै सम्बोधन गर्न सकिने गरी मन्त्रालयले तयारी गरेको पनि उनले जानकारी दिए ।

छलफलमा काठमाडौं महानगरपालिकाकी कार्यवाहक नगर प्रमुख सुनिता ढंगोलले दुई दिन बिदा गर्दा पाठ्यक्रम समायोजन चाँडो गर्नुपर्ने बताइन् । ललितपुर महानगरका प्रमुख चिरिबाबु महर्जनले निजी विद्यालयमा छात्रवृत्ति वितरण पारदर्शी बनाउनुपर्ने र धेरै विद्यालयको जग्गा भोगाधिकारको नभएकाले नीतिगत प्रबन्ध आवश्यक रहेको औंल्याए ।

नगरपालिका संघका अध्यक्ष भीमप्रसाद ढुंगानाले शिक्षा निःशुल्क पाउने व्यवस्था गर्न माग गर्दै कक्षा १ देखि ५ सम्मको परीक्षामा मापदण्ड बनाउन सुझाव दिए । गाउँपालिका राष्ट्रिय महासंघकी अध्यक्ष लक्ष्मीदेवी पाण्डेले शुल्क निर्धारण तथा नियमन स्थानीय सरकारले नै गर्नुपर्ने धारणा राखिन् ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button