नेपालको शिक्षा प्रणालीबाट धेरै सिक्न सक्छौं : नर्वेली राजदूत

काठमाडौं । नेपालका लागि नर्वेका राजदूत डागनी म्युसले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलसँग शिष्टाचार भेटवार्ता गरेकी छिन् ।
सिंहदरबारस्थित मन्त्रालयमा सोमबार भएको भेटमा नेपालको शिक्षा, विज्ञान, प्रविधि र खेलकुद क्षेत्रमा नर्वे सरकारको सहयोग तथा सहकार्यबारे कुराकानी भएको थियो । विशेष गरी विद्यालय शिक्षामा नर्वेले पुर्याउँदै आएको सहयोगको निरन्तरता र आगामी साझेदारीका विषयमा छलफल केन्द्रित रहेको थियो ।
भेटमा मन्त्री पोखरेलले समावेशिता, समता, आधारभूत सिकाइ र क्लाइमेट स्मार्ट शिक्षा प्रणालीलगायत क्षेत्रमा नर्वेले गरिरहेको सहयोगप्रति धन्यवाद दिए । उनले नर्वेको शिक्षा प्रणालीको प्रशंसा गर्दै नेपालले त्यसबाट धेरै सिक्न सक्ने र मन्त्रालय त्यसका लागि तयार रहेको बताए ।
राजदूत म्युसले नेपालको विद्यालय शिक्षामा नर्वेको सहयोग निरन्तर रहने प्रतिबद्धता जनाइन् । उनले नेपाल सरकारको एक सय बुँदे प्राथमिकताबारे आफू जानकार रहेको र शिक्षा क्षेत्रमा थप सहकार्य गर्न नर्वे उत्सुक रहेको बताइन् ।





