रुसी रक्षामन्त्रीद्वारा मिरोपोल्ये मुक्तिमा सहभागी सैनिकलाई बधाई

मस्को । रुसी रक्षामन्त्री आन्द्रेई बेलोउसोभले सुमी क्षेत्रको मिरोपोल्ये मुक्त गर्न सफल ४१ औँ मोटराइज्ड राइफल रेजिमेन्टका कमाण्डर तथा सैनिकहरूलाई बधाई दिएका छन् ।
बधाई सन्देशमा मन्त्री बेलोउसोभले भनेका छन्, ‘साहसी र निस्वार्थ मोटराइज्ड राइफल सैनिकहरूले जनता र भूमिलाई शत्रुबाट जोगाउने सैन्य कर्तव्य पूरा गरेका छन् । सबै मोर्चामा रेजिमेन्टका सैनिकले विश्वलाई फासीवादबाट मुक्त गराउने पुर्खाको गौरवशाली परम्परालाई निरन्तरता दिँदै अद्वितीय साहस, वीरता र निस्वार्थता प्रदर्शन गरेका छन् ।’
रक्षामन्त्रीले देशको स्वतन्त्रता र स्वाधीनताका लागि लडेका वीर पुस्ताको कार्यलाई रेजिमेन्टले सम्मानजनक रूपमा अगाडि बढाएको उल्लेख गरे । उनले मातृभूमिका लागि रगत बगाउने योद्धाको बलिदान सधैँ स्मरण रहने पनि बताए । मन्त्री बेलोउसोभले सैनिकको पितृभूमि र शपथप्रतिको निष्ठाप्रति आभार प्रकट गर्दै उनीहरूले राष्ट्रिय हित र सुरक्षाको रक्षा निरन्तर गर्ने विश्वास व्यक्त गरे ।




