मध्यपूर्व तनाव र एमाजोनको प्रवेशले वाल स्ट्रिट रक्ताम्य, डाउ ५५७ अंकले घट्यो

न्यूयोर्क । मध्यपूर्वमा पुनः तनाव चर्किएपछि र ढुवानी उद्योगमा प्रतिस्पर्धात्मक हलचल बढेपछि सोमबार अमेरिकी शेयर बजार ओरालो लागेको छ ।
डाउ जोन्स इन्डस्ट्रियल एभरेज ५५७.३७ अंक अर्थात् १.१३ प्रतिशत घटेर ४८ हजार ९४१.९० मा बन्द भयो । एसएन्डपी ५०० मा २९.३७ अंकको गिरावट आउँदा नास्डक सूचक ४६.६४ अंकले घटेर २५ हजार ६७.८० मा पुग्यो ।
एसएन्डपीका ११ मध्ये १० वटा क्षेत्र ऋणात्मक रहे भने सामग्री र औद्योगिक क्षेत्र क्रमशः १.५७ र १.१७ प्रतिशत घटे । ऊर्जा भने ०.८५ प्रतिशत बढेर अपवाद बन्यो ।
हर्मुज जलसन्धिमा दुईवटा इरानी आक्रमणबाट अमेरिकी गस्ती डुंगा र युद्धपोत प्रभावित भएको समाचारपछि बजार ऋणात्मकतर्फ लाग्यो । यद्यपि अमेरिकाले यी समाचार अस्वीकार गरे पनि युएईले अबुधाबी राष्ट्रिय तेल कम्पनीको जहाज र फुजैराह निर्यात केन्द्रमा आक्रमण भएको जनाएपछि तनाव थप चुलियो ।
यसैबीच अमेजनले आफ्नो मालवाहक सञ्जाल बाह्य व्यवसायलाई खोल्ने घोषणा गरेपछि ढुवानी क्षेत्र हल्लियो । जिएक्सओ लजिस्टिक्स १७.७ प्रतिशत घट्दा युपिएस र फेडेक्स क्रमशः १०.४७ र ९.११ प्रतिशत ओरालो लागे ।
तेल बजारमा डब्लूटीआई कच्चा तेल ४.३९ प्रतिशत बढेर प्रतिब्यारल १०६.४२ डलर पुग्दा ब्रेन्ट क्रुड ५.८ प्रतिशत उफ्रेर ११४.४४ डलरमा बन्द भयो ।





