युएईमाथि इरानी आक्रमणको क्षेत्रीय भर्त्सना, ‘खतरनाक उक्साहट’ भन्दै अरब जगत एकढिक्का

रियाद/दोहा । संयुक्त अरब इमिरेट्स (युएई) माथि इरानले गरेको पछिल्लो आक्रमणको मध्यपूर्वका देश र क्षेत्रीय संगठनहरूले कडा निन्दा गरेका छन् । उक्त आक्रमणले क्षेत्रीय सुरक्षा र स्थायित्वमा खतरनाक उक्साहट ल्याएको उनीहरूको भनाइ छ ।
साउदी युवराज मोहम्मद बिन सलमानले युएई राष्ट्रपति शेख मोहम्मद बिन जायद अल नाहयानसँग टेलिफोन वार्ता गर्दै इरानी आक्रमणको कडा भर्त्सना गरेका छन् । साउदी प्रेस एजेन्सीका अनुसार उनले युएईको सुरक्षा र स्थायित्वमा साउदी अरेबियाको पूर्ण समर्थन दोहोर्याए ।
जोर्डनले आक्रमणलाई युएईको सार्वभौमिकतामाथि खुल्ला उल्लंघन भन्दै उपप्रधानमन्त्री आयमान सफादीले युएई समकक्षीसँगको फोन वार्तामा अटल एकता प्रकट गरे ।
कतारले हर्मुज जलसन्धि पार गर्दै गरेको अबुधाबी राष्ट्रिय तेल कम्पनीको ट्यांकरमा दुई ड्रोनबाट भएको आक्रमणको कडा निन्दा गरेको छ । विदेश मन्त्रालयले यसलाई अन्तर्राष्ट्रिय कानुन र समुद्री नौवहन स्वतन्त्रताको खुल्ला उल्लंघन भन्दै हर्मुजलाई दबाबको औजार बनाउन नहुने चेतावनी दिएको छ ।
इजिप्टले खाडी क्षेत्र अस्थिर बनाउने कुनै पनि कार्यको विरोध गर्दै यस्ता आक्रमण शान्ति पहलका लागि बाधक भएको जनाएको छ । अरब लिगका महासचिव अहमद अबुल घेइतले युएईमाथिको आक्रमण तत्काल रोक्न र यसको पूर्ण जिम्मेवारी इरानले लिनुपर्ने बताए ।
खाडी सहयोग परिषद् (जिसिसी) का महासचिव जासेम अल्बुदाइवीले सदस्य राष्ट्रमाथिको आक्रमण अस्वीकार्य रहेको भन्दै अन्तर्राष्ट्रिय समुदायलाई जिम्मेवारी बहन गर्न आग्रह गरेका छन् ।





