‘पूर्ण र वैध जवाफ दिने अधिकार छ’ : इरानी आक्रमणपछि युएईको चेतावनी

अबुधाबी । संयुक्त अरब इमिरेट्स (युएई) ले इरानले आफूमाथि क्षेप्यास्त्र र ड्रोनबाट नयाँ आक्रमण गरेको भन्दै कडा भर्त्सना गरेको छ। आक्रमणले देशको सुरक्षा, स्थायित्व र भौगोलिक अखण्डतामा सीधा खतरा पैदा गरेको युएईको भनाइ छ।
युएई विदेश मन्त्रालयले सोमबार जारी गरेको विज्ञप्तिमा आक्रमणको जवाफ दिने ‘पूर्ण र वैध अधिकार’ आफूसँग रहेको स्पष्ट पारेको छ। विज्ञप्तिमा भनिएको छ, ‘नागरिक क्षेत्रलाई लक्षित गरी भएका यी आक्रमण खतरनाक उक्साहट र अस्वीकार्य आक्रामक कार्य हुन्।’
यसअघि सोमबार नै फुजैराह तेल औद्योगिक क्षेत्रलगायत स्थानमा क्षेप्यास्त्र र ड्रोन आक्रमण हुँदा तीन भारतीय नागरिक घाइते भएको स्थानीय अधिकारीहरूले जनाएका थिए।
उता, इरानको सरकारी आइआरआईबी समाचार संस्थाले भने एक वरिष्ठ सैन्य स्रोतलाई उद्धृत गर्दै युएईलाई निशाना बनाउने कुनै योजना इरानको नभएको दाबी गरेको छ।





