२२ बैशाख २०८३, मंगलवार

बौद्ध घ्याङ गुठीको अध्यक्षमा ‘फ्री तिब्बत’ अभियन्ता, पूर्वाधिकारीलाई बर्खास्त

काठमाडौं । चीनबाट निर्वासित तिब्बती धर्मगुरु दलाई लामासँग निकट रहेका खड्गजित लामा बौद्ध तथा मेलम्ची घ्याङ गुठी व्यवस्थापन समितिको अध्यक्ष नियुक्त भएका छन्। एक चीन नीतिको विपक्षमा सक्रिय रहेका खड्गजितलाई गुठी संस्थानले हालै अध्यक्ष नियुक्त गरेको हो।

नवगठित समितिको सचिवमा टासी लामा, कोषाध्यक्षमा शैलेन्द्र लामा तथा सदस्यहरूमा किशोर लामा र निर्मला लामा चयन भएका छन्। गुठी संस्थान, काठमाडौं महानगरपालिका–६, बौद्ध तथा मेलम्ची घ्याङ गुठी र जिल्ला प्रशासन कार्यालय पदेन सदस्यका रूपमा रहने व्यवस्था गरिएको छ।

यसअघि उक्त गुठीमा चिनियाँ लामाका रूपमा भूपतिबज्र लामा कार्यरत थिए। गुठी संस्थानले उनलाई पदबाट हटाउन निरन्तर प्रयास गरेको र बर्खास्त गरेको घटनालाई लिएर निर्वाचन आयोगमा उजुरी समेत परेको थियो। आयोगले संस्थानको निर्णय आचारसंहिता विपरीत र तथ्यहीन भएको भन्दै लामालाई साविककै पदमा यथावत राख्न निर्देशन दिएको थियो।

स्रोतका अनुसार भूपतिबज्र लामालाई बौद्ध घ्याङ गुठीको जग्गा अतिक्रमणको विषयमा निरन्तर चासो राखेकै कारण पदबाट हटाउन दबाब दिइएको थियो। जग्गा संरक्षणमा जोड दिने भूपतिबज्रलाई हटाइएपछि सोही जग्गा अतिक्रमणका आरोप लागेका खड्गजितलाई जिम्मेवारी दिइएको बताइन्छ।

नवनियुक्त अध्यक्ष खड्गजितमाथि बौद्धनाथ स्तुपा परिसरमा अनधिकृत संरचना निर्माण गरी भाडामा लगाएको आरोप छ। उक्त संरचनाका कारण स्तुपामा जोखिम बढेको भन्दै स्थानीयवासी र पर्यटन व्यवसायीहरूले २०७५ भदौ २१ गते जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका थिए। पुरातत्व विभागले २०७६ भदौ ८ मा उक्त अनधिकृत संरचना हटाउन निर्देशन दिए पनि हालसम्म कार्यान्वयन हुन सकेको छैन।

खड्गजितले दलाई लामाको उपस्थिति रहेको भारतको बोधगयामा आयोजित कालचक्र कार्यक्रममा सहभागी हुन अरूलाई गुठीकै लेटरप्याड प्रयोग गरी पत्राचार गरेको पाइएको छ।

यसैगरी, उनीमाथि बौद्ध घ्याङ गुठी परिसरमा एक व्यक्तिलाई कुटपिट गरेको अभियोग पनि लागेको थियो। पीडितले दिएको जाहेरीपछि तत्कालीन प्रदेश सभा सदस्य छिरिङ दोर्जे लामाको रोहबरमा मिलापत्र भएको थियो।

बौद्ध तथा मेलम्ची घ्याङ गुठीले स्तुपासँगै रहेका जग्गा अतिक्रमण गरी पार्टी प्यालेस निर्माणको प्रयास गरेको र सो असफल भएपछि टहरा बनाएर बिक्री गरेको आरोप पनि स्रोतले लगाएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button