पटाका कारखाना विस्फोटमा २६ को मृत्युपछि चीनले बनायो उच्चस्तरीय छानबिन टोली

बेइजिङ । चीनको केन्द्रीय हुनान प्रान्तस्थित पटाका कारखानामा भएको भीषण विस्फोटको कारण पत्ता लगाउन र दोषीमाथि कारबाही गर्न राज्य परिषद्को उच्चस्तरीय छानबिन टोली गठन गरिने भएको छ ।
हुनानको राजधानी चाङ्साअन्तर्गत पर्ने लियुयाङ काउन्टीस्तरीय सहरमा सोमबार अपराह्न ४ बजेर ४३ मिनेटमा भएको विस्फोटमा २६ जनाको मृत्यु र ६१ जना घाइते भएका छन् ।
चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका पोलिटब्युरो सदस्य तथा उपप्रधानमन्त्री झाङ गुओछिङ चिनियाँ कम्युनिष्ट पार्टी र राज्य परिषद्को प्रतिनिधित्व गर्दै मंगलबार लियुयाङ पुगेका छन् । उनी घटनास्थल र स्थानीय अस्पताल पुगेर बेपत्ताको खोजी र घाइतेको उपचारबारे जानकारी लिएपछि उद्धार, उपचार र दुर्घटना अनुसन्धानबारे बैठक गरेका थिए ।
उपप्रधानमन्त्री झाङले बेपत्ताको खोजीमा व्यावसायिक टोली परिचालन गर्न, उच्चस्तरीय चिकित्सक परिचालन गरी घाइतेको उपचार गर्न र मृतकका परिवारलाई धैर्यतापूर्वक सम्झाउँदै राहत उपलब्ध गराउन निर्देशन दिए । साथै, पटाका र खतरनाक रसायन उद्योगमा गैरकानुनी गतिविधि नियन्त्रण गर्न र ठूला दुर्घटना रोक्न कडा कदम चाल्न पनि उनले आग्रह गरे ।





