२२ बैशाख २०८३, मंगलवार

आगोको मुस्लो र बारुदको गन्ध, लियुयाङ विस्फोटमा भग्नावशेषमुनिबाट ७ जनाको जीवितै उद्धार

लियुयाङ (हुनान) । मध्य चीनको हुनान प्रान्तको राजधानी चाङ्साअन्तर्गत पर्ने लियुयाङ काउन्टीस्तरीय सहरमा सोमबार अपराह्न भएको पटाका कारखाना विस्फोटपछि उद्धारकर्मीले जोखिमबीच समयसँगको दौड जारी राखेका छन् । हालसम्म २६ जनाको मृत्यु र ६१ जना घाइते भएको यस घटनामा मंगलबार अपराह्नसम्म भग्नावशेषबाट ७ जनालाई जीवितै उद्धार गरिएको छ ।

सिन्ह्वाका संवाददाता सोमबार राति अग्नि नियन्त्रण टोलीसँगै विस्फोटको केन्द्रस्थल पुग्दा चारैतिर क्षतिको भयावह दृश्य थियो । नजिकका गाउँका घरका झ्यालका सिसा टुटफुट भएर छरपस्ट थिए भने स्थानीय बासिन्दा मनभरि त्रास बोकेर घर सफा गर्न व्यस्त थिए ।

एक स्थानीयले भने, ‘तीनवटा कान फुटाउने ठूला आवाज आए, घर यति जोडले हल्लियो कि सामानहरू खसाखस भए । त्यसपछि दुई-तीन घन्टासम्म रोकिएर विस्फोट भइरह्यो ।’

कारखाना परिसरनजिकको दृश्य झन् विनाशकारी थियो । सडकमा ढुंगा, फलामका पाता र भवनका अवशेष थुप्रिएका थिए । कारखानाको फलामे ढोका बाङ्गिएको थियो भने प्रवेशद्वारमा पार्क गरिएका सवारी साधन जलेर खरानी भएका थिए । मोटा रूखसमेत आधा भाँच्चिएका थिए ।

विस्फोट केन्द्रमा तीखो धुवाँको मुस्लो उठिरहेको थियो र भग्नावशेषबीच साना आगोका मुस्ला बलिरहेका थिए भने छिटपुट विस्फोटको आवाज रातभरि गुन्जिरह्यो । बाँकी रहेका तयारी र अधबने पटाका सामग्री पटकपटक बलेपछि उद्धार कार्यमा ठूलो बाधा पुगेको थियो ।

यस चुनौतीबीच उद्धारकर्मीले एक किलोमिटरको मुख्य उद्धार क्षेत्र र तीन किलोमिटरको नियन्त्रित क्षेत्र तोकेर जोखिम क्षेत्रका सबै बासिन्दालाई तत्काल सुरक्षित स्थानमा सारे । ड्रोन, रोबोट र चारखुट्टे रोबोटिक कुकुर प्रयोग गरी भग्नावशेषमा इन्चइन्च खोजी गरिएको थियो ।

मंगलबार बिहान पुनः केन्द्रस्थल पुग्दा धुवाँ र आगो निकै कम भइसकेको थियो । १० भन्दा बढी उत्खनन मेसिन एकसाथ चलेर भग्नावशेष हटाउन र बेपत्ताको खोजी गर्न थालेका थिए भने पानीको निरन्तर छिटाले आगोका जोखिम नियन्त्रण गरिएको थियो ।

सडकका दुवैतर्फ दमकल, एम्बुलेन्स र ठूला इन्जिनियरिङ उपकरण लाइन लागेर तैनाथ थिए । पाँच व्यावसायिक उद्धार टोलीका ४८२ जना उद्धारकर्मीले मानव र मेसिनको सहकार्यबाट भग्नावशेषमा पूर्ण खोजी सकेको र मंगलबार अपराह्नसम्म ७ जनालाई सकुशल निकालिएको छ ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button