सीमामा सास्ती हट्यो, स्थलमार्ग हुँदै नेपाल आउने पर्यटकलाई अनलाइन सहजीकरण

काठमाडौं । सरकारले स्थलमार्ग हुँदै नेपाल भित्रिने भारतीय तथा तेस्रो मुलुकका पर्यटकलाई लक्षित गरी अनलाइन सेवा सुरु गरेको छ ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मंगलबार भन्सार विभागले विकास गरेको उक्त प्रणालीको उद्घाटन गरे । यससँगै अब विदेशी सवारी साधनले नेपाल प्रवेश गर्दा अनलाइनबाटै विवरण भर्न र राजस्व तिर्न सक्नेछन् ।
यसअघि पर्यटकले भन्सार नाकामा पुगेर भौतिक रूपमा अस्थायी इजाजत लिनुपर्ने बाध्यता थियो । यात्रा अवधि सकिए नवीकरणका लागि पुनः भन्सार कार्यालय धाउनुपर्ने वा जरिवाना तिर्नुपर्ने झन्झट थियो । अब सवारी साधनको इजाजत पत्र घरबाटै अनलाइन भरेर शुल्क तिरेपछि विना झन्झट नेपाल घुम्न आउन सकिने भएको छ ।
उद्घाटनका क्रममा अर्थमन्त्री वाग्लेले सीमा क्षेत्रमा पर्यटकले पाउने सास्ती अब हट्ने विश्वास व्यक्त गरे ।





