कांग्रेस नीति प्रतिष्ठानमा ३९ सदस्य थप, निर्देशक भामदेखि कवि मुकारुङसम्म

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले आफ्नो संरचनालाई पूर्णता दिने क्रममा ३९ नयाँ सदस्य थप गरेको छ ।
पार्टी उपसभापति एवं प्रतिष्ठान प्रमुख विश्वप्रकाश शर्माले विभिन्न क्षेत्र र भूगोलको प्रतिनिधित्व हुने गरी उनीहरूलाई नियुक्त गरेका हुन् । कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार पार्टी विधान २०१७ को धारा ३६(१)(ग) ले दिएको अधिकार प्रयोग गरी यो नियुक्ति गरिएको हो ।
नवनियुक्त सदस्यमा काभ्रेपलाञ्चोकका मधु आचार्य, बर्दियाका डा. गोपाल दहित थारु, रौतहटकी अञ्जु झा, ललितपुरका उमेश श्रेष्ठ, प्युठानका प्रा.डा. गोविन्दराज पोखरेल, मुगुका चलचित्र निर्देशक मीन भाम, महोत्तरीका डा. अञ्जनीकुमार झा, प्रवासका डा. यादव पण्डित, बर्दियाका बद्री सिग्देल, सुनसरीका गोपालप्रसाद पोखरेल र भोजपुरका कवि श्रवण मुकारुङसहित ३९ जना छन् ।
प्रतिष्ठानलाई थप प्रभावकारी र समावेशी बनाउन विभिन्न क्षेत्रका विज्ञ तथा नेतालाई जिम्मेवारी दिइएको जनाइएको छ ।





