२३ बैशाख २०८३, बुधबार

पहिरो हटेपछि केही राजमार्ग खुले, बीपी र मध्यपहाडी भने अझै अवरुद्ध

काठमाडौं । केही दिनदेखिको वर्षासँगै आएको बाढीपहिराका कारण अवरुद्ध भएका देशका विभिन्न राजमार्गमध्ये केहीमा यातायात सुचारु भएको छ भने केही सडकखण्ड अझै अवरुद्ध छन् ।

केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेका अनुसार सोमबार साँझको पहिराले अवरुद्ध ललितपुरको बागमती गाउँपालिका–३ भालुखोलास्थित कान्तिलोकपथ, ताप्लेजुङको मेरिङदेन–५ हाङगाङदाङ थुकिम्बा–दोभान भित्रि सडक, सिन्धुपाल्चोकको भोटेकोशी–२ कोदारीस्थित अरनिको राजमार्ग र मकवानपुरको भीमफेदी–८ भर्याङडाँडास्थित कान्तिलोकपथमा मंगलबार साँझदेखि यातायात पूर्ण रूपमा सञ्चालनमा आएको छ ।

यस्तै, भोजपुरको बोखिमस्थित मध्यपहाडी लोकमार्ग र म्याग्दीको अन्नपूर्ण–३ जलथलेस्थित बेनी–जोमसोम सडकखण्ड भने एकतर्फी मात्र सञ्चालन भएका छन् ।

तर, काभ्रेको नमोबुद्ध–६ चौकीडाँडा र रोशी–७ घुमाउनेस्थित बीपी राजमार्ग, इलामको सलकपुर–डखेप हुँदै झापा जाने भित्रि सडक र लमजुङको मध्यनेपाल–१० बिमिरेभञ्ज्याङस्थित मध्यपहाडी लोकमार्ग पूर्ण रूपमा अवरुद्ध छन् । काभ्रेको खुर्कोट–नेपालथोक–कटुञ्जेबेसी सडकखण्डमा सबै सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ ।

प्रहरीले वर्षात्को समयमा जोखिम बढी हुने भएकाले सुरक्षित र सावधानीपूर्वक यात्रा गर्न आग्रह गरेको छ ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button