दक्षिण कोरियाकी पूर्वप्रथम महिलाको मुद्दाका न्यायाधीश मृत फेला

सियोल । दक्षिण कोरियाकी पूर्वप्रथम महिला किम कन–हीविरुद्धको स्टक हेरफेर र भ्रष्टाचार मुद्दाको पुनरावेदन सुनुवाइ गरेका एक न्यायाधीश बुधबार बिहान मृत फेला परेका छन् ।
सियोल उच्च अदालतका न्यायाधीश सिन जोङ–ओहलाई स्थानीय समय अनुसार मध्यरातमा प्रहरीलाई खबर प्राप्त भएपछि राति करिब १ बजे अदालत भवन नजिकै मृत अवस्थामा भेटिएको कोरियाली समाचार संस्था योन्हापले जनाएको छ । प्रहरीले मृत्युको कारणबारे अनुसन्धान गरिरहेको छ ।
यसै साता सोमबार विशेष सल्लाहकार टोलीले पूर्वराष्ट्रपति युन सुक–योलकी पत्नी किमलाई चार वर्ष कैद सजाय सुनाएको उच्च अदालतको फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन गरेको थियो ।
गत अप्रिल २८ मा सियोल उच्च अदालतले तल्लो अदालतको २० महिना कैद सजाय बढाएर ५ करोड वोन जरिवानासहित चार वर्ष कैदको सजाय सुनाएको थियो । यद्यपि, विशेष सल्लाहकार टोलीले भने १५ वर्ष कैद सजायको माग गरेको थियो ।





