सुनको भाउ अकासियो, तोलामा ५८ सयले बढेर २ लाख ९६ हजार ८ सय पुग्यो

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्यमा बुधबार ठूलो वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ५ हजार ८ सय रुपैयाँले बढेर २ लाख ९६ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ।
यसअघि मंगलबार छापावाल सुन प्रतितोला २ लाख ९१ हजार रुपैयाँमा खरिदबिक्री भएको थियो। एकै दिनमा आएको यो मूल्यवृद्धिले पछिल्लो समयको कीर्तिमानी उचाइलाई संकेत गरेको व्यवसायीहरू बताउँछन्।
यस्तै, चाँदीको मूल्यमा पनि आज उल्लेख्य बढोत्तरी देखिएको छ। महासंघका अनुसार बुधबार चाँदी प्रतितोला १ सय ७५ रुपैयाँले बढेर ५ हजार ५५ रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार चाँदी प्रतितोला ४ हजार ८ सय ८० रुपैयाँमा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा आएको उछालको प्रत्यक्ष प्रभाव नेपाली बजारमा परेको हो। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज विश्व बजारमा प्रतिऔंस सुनको मूल्य ४ हजार ६ सय ३० अमेरिकी डलर पुगेको छ भने सोही परिमाणको चाँदी ७४ अमेरिकी डलरमा कारोबार भइरहेको छ। अमेरिकी डलरको सूचकांकमा आएको गिरावट, भूराजनीतिक तनाव र व्यापार युद्धका कारण लगानीकर्ताहरू सुरक्षित सम्पत्तिको रूपमा सुनतिर आकर्षित हुँदा अन्तर्राष्ट्रिय बजार नयाँ उचाइमा पुगेको विश्लेषकहरूको भनाइ छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले अन्तर्राष्ट्रिय बजारको मूल्यका आधारमा दैनिक रूपमा नेपाली बजारको भाउ निर्धारण गर्ने गरेको जनाएको छ।





