महासंघको नेतृत्व अञ्जान श्रेष्ठले सम्हाल्ने, मिश्रित नतिजासहित ६८ सदस्यीय कार्यकारिणी चयन

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघमा नयाँ नेतृत्व चयन भएको छ। सोमबार र मंगलबार काठमाडौंको कमलादीमा सम्पन्न ६०औं वार्षिक साधारणसभा तथा निर्वाचनले चार उपाध्यक्षसहित ६८ सदस्यीय कार्यकारिणी समिति निर्वाचित गरेको हो।
साधारणसभामा हेमराज ढकाल र वरिष्ठ उपाध्यक्ष अञ्जनकुमार श्रेष्ठले छुट्टाछुट्टै प्यानल निर्माण गरेका थिए। नतिजाअनुसार दुवै प्यानलबाट मिश्रित ढंगले पदाधिकारी तथा सदस्य चयन भएका छन्।
महासंघको विधानअनुसार अबको नेतृत्व वरिष्ठ उपाध्यक्ष अञ्जनकुमार श्रेष्ठले गर्नेछन्। दुई दशकभन्दा लामो समयदेखि नेपालको व्यावसायिक क्षेत्रमा स्थापित छवि बनाएका श्रेष्ठले आगामी तीन वर्ष महासंघको नेतृत्व सम्हाल्नेछन्।
श्रेष्ठको नेतृत्वमा साधारणसभा निर्वाचनबाट विजयी उपाध्यक्ष र कार्यकारिणी सदस्यहरूको नयाँ टोली रहनेछ। वस्तुगततर्फ उपाध्यक्षमा नरेशलाल श्रेष्ठ विजयी भएका छन् भने जिल्ला/नगरतर्फ उपाध्यक्षमा कृष्णप्रसाद शर्मा र दिलसुन्दर श्रेष्ठ निर्वाचित भएका छन्। एसोसिएटतर्फको उपाध्यक्षको मतपरिणाम भने आउन बाँकी छ।
वस्तुगत समूहतर्फ २६ उम्मेदवारबीच भएको प्रतिस्पर्धामा अरनिको राजभण्डारी, नानिराज घिमिरे, पशुपति देव पाण्डे, विदुर धमला, भक्तबहादुर हमाल, रविन पुरी, राजकुमार कार्की, लिलेन्द्र प्रधान, संघर्ष विष्ट, सागर ढकाल र होमप्रसाद घिमिरे विजयी भएका छन्। चार जनाको मत बराबरी भएकाले चिठ्ठा प्रणालीबाट विजेता घोषणा गरिने भएको छ। वस्तुगत समूहको दुई महिला सदस्यमध्ये सुनिता न्हेम्हाफुकी निर्वाचित भएकी छन्।
जिल्ला/नगर खुलातर्फ सदस्यमा अर्जुनकुमार श्रेष्ठ, प्रयास कार्की, कृष्ण कातुवाल, लक्ष्मणराज पौडेल, छत्रधर आत्रेय, मोहनप्रसाद श्रेष्ठ, सन्तोष खड्का, दीपक नेपाल, केशवप्रसाद भण्डारी, हरिप्रसाद अर्याल, ताराबहादुर कार्की, शंकर गिरी, उज्ज्वलप्रसाद कसजु र सुदर्शन कार्की विजयी भएका छन्। महिलातर्फ गीता अमात्य र हिरा भट्टराई निर्वाचित भएकी छन्।
यसैगरी, वरिष्ठ उपाध्यक्ष पद भने नयाँ कार्यकारिणी समितिले चयन गर्नेछ।





