२३ बैशाख २०८३, बुधबार

देउवा दम्पतीविरुद्ध रेड नोटिस जारी गर्न इन्टरपोलको अस्वीकार, सर्त पुग्न नसकेको जवाफ

काठमाडौं । सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धानरत पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी तथा पूर्वपरराष्ट्रमन्त्री आरजु राणा देउवाविरुद्ध अहिलेकै अवस्थामा रेड नोटिस जारी गर्न नसकिने जवाफ इन्टरपोलले पठाएको छ ।

देउवा दम्पतीविरुद्ध सम्बद्ध कसुर नदेखिएको र एकैपटक सम्पत्ति शुद्धीकरणमा अनुसन्धान अघि बढाएको विषयलाई पनि रेड नोटिसका लागि आवश्यक सर्तहरू नपुगेको भन्दै इन्टरपोलले प्रश्न उठाएको हो ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको अनुरोधमा जिल्ला अदालत काठमाडौंले २४ चैत २०८२ मा देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । त्यसपछि विभागले पक्राउ पुर्जी र अनुसन्धान भइरहेको कसुर उल्लेख गर्दै रेड नोटिस जारीको प्रक्रिया अघि बढाउन प्रहरीमार्फत इन्टरपोललाई अनुरोध गरेको थियो ।

देउवा दम्पती हाल हङकङमा रहेको बताइए पनि यसबारे सरकार र देउवा परिवारबाट आधिकारिक विवरण सार्वजनिक भएको छैन । २४ भदौको जेन–जी आन्दोलनका क्रममा निवासमा आक्रमण भएपछि दुवैजनालाई सेनाको सहयोगमा उद्धार गरी अस्पताल लगिएको थियो । त्यसलगत्तै उनीहरू उपचारका लागि भन्दै सिंगापुर गएका थिए । त्यहाँबाट फर्केपछि पुनः देउवा त्रिभुवन विमानस्थल हुँदै सिंगापुर गएका थिए भने आरजु भारतको बाटो हुँदै सिंगापुर पुगेकी थिइन् । उनीहरू देशबाहिर रहेकै बेला सरकारले सम्पत्ति शुद्धीकरण अनुसन्धानको दायरामा तानेको थियो ।

सुरक्षा स्रोतका अनुसार इन्टरपोलले देउवा दम्पतीविरुद्धको सम्बद्ध कसुर के हो, कुन–कुन कसुरमा अनुसन्धान भइरहेको छ र अनुसन्धान कुन अवस्थामा पुगेको छ भन्ने प्रश्न उठाएको छ । प्रहरी प्रधान कार्यालय स्रोतले रेड नोटिस जारी गर्न पठाइएको पत्र नोटिस जारी नभई फिर्ता आएको पुष्टि गरेको छ ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button